पर्साः हेल्थ असिस्टेन्टहरुको धर्ना
स्वास्थ्य चौकीे इन्चार्जको जिम्मेवारी सम्बन्धी विवाद समाधान नगरेको भन्दै आन्दोलनरत पर्साका सरकारी स्वास्थ्य संस्थाका हेल्थ असिस्टेन्टहरुले १९ पुसमा जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएका छन् ।
स्वास्थ्य चौकीको इन्चार्ज हेल्थ असिस्टेन्ट नै हुने भन्दै मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले परिपत्र गरिसकेको भए पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बेवास्ता गरेको भन्दै हेल्थ असिस्टेन्टहरु गत आइतबारदेखि नै आन्दोलित छन् ।
आन्दोलनकै क्रममा उनीहरुले मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएका हुन् ।
उनीहरुले आफ्ना माग पूरा नभए २० पुसदेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा अनिश्चितकालका तालाबन्दी गर्ने निर्णय समेत गरेको हेल्थ असिस्टेन्ट संघका केन्द्रीय सदस्य अनिल यादवले बताए ।
३ महिना अघि पर्सा जिल्लामा ४२ जना नयाँ हेल्थ असिस्टेन्ट थपिएपछि स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारीलाई लिएर विवाद शुरु भएको हो ।
नयाँ आएका युवा हेल्थ असिस्टेन्टहरुलाई इन्चार्जको जिम्मेवारी दिन सिनियर अहेवहरुले आनाकानी गर्दै आएका छन् ।
पहिलेका १७ जना, नयाँ आएका ४२ र समायोजन भएका १३ गरी पर्सा जिल्लामा ७२ जना हेल्थ असिसटेन्ट कार्यरत छन् ।
“केहीले इन्चार्जको जिम्मेवारी पाएको भए पनि सबैले पाउन सकेका छैनन् । जिल्ला जनस्वास्थ्य पनि गम्भीर भएको छैन्,” केन्द्रीय सदस्य यादवले भने, “छिटो भन्दा छिटो समस्या होस भन्ने हामी चाहान्छौं ।”
मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयले जेठ महिनामै हेल्थ असिस्टेन्टहरुलाई नै स्वास्थ्य चौकीको प्रमुखको जिम्मेवारी दिन भनी परिपत्र गरिसकेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि जिम्मेवारी दिन आनाकानी गरिरहेको आरोप हेल्थ असिस्टेन्टहरुको छ ।
-सुरेश बिडारी, वीरगञ्ज