अख्तियार अगाडि प्रदर्शनमा रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वरपर जुलुस, सभा, प्रदर्शनमा रोक लगाएको छ ।
अयोगको कार्यालय रहेको स्थान काठमाडौं टंगाल आसपासको क्षेत्रलाई आज, २८ साउनदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
पूर्वमा विशालनगर र हाँडीगाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिर नजिकको धारा, पश्चिममा गैह्री धारा चोक र दक्षिणमा दुरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
त्यसक्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा समितिको सिफारिस अनुसार निषेधित क्षेत्र घोषणा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीं विरुद्ध डा. गोविन्द केसीका समर्थकहरुले अख्तियार कार्यालय नजिक प्रदर्शन गर्दै आएका थिए ।
यद्यपी उनीहरुले अख्तियार कार्यालयदेखि उत्तर भाटभटेनीचोक भन्दा पनि अली पर सडक पेटीमा मात्रै प्रदर्शन गरेका थिए ।