नरपानी क्षेत्रमा सात वर्षमा ८३ जनाको मृत्यु, किन हुन्छ अर्घाखाँचीमा पटकपटक दुर्घटना ?
विष्णु कुमार आले
अर्घाखाँचीको नरपानीदेखि फुदवाङ सम्मको सडक क्षेत्रमा सात वर्षको अवधिमा दुर्घटनामा परी ८३ जनाको मृत्यु र सयौं जना घाइते भएका छन् ।
बुधबार अपराह्न अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि हिंडेको बस नरपानी क्षेत्रमा दुर्घटना भयो । लु २ ख २१४८ नं. को यात्रुवाहक बस तीन सय मिटर तल अनकन्टार भीरबाट खस्दा १९ जनाले ज्यान गुमाउनु पर्यो ।
१७ जनाको घटनास्थलमै ज्यान गयो भने दुई जनाको उपचारको क्रममा निधन भयो । दुर्घटनामा १८ जना घाइते भए । जसमध्ये दुई जना सामान्य उपचारपछि घर फर्किसकेका छन् । बुधबारको दुर्घटना पछिल्लो ५ वर्ष यताको सबैभन्दा ठूलो र बीभत्स रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।
यस्तो छ नरपानी क्षेत्रमा सवारी दुर्घटनाको स्थिति– नरपानी क्षेत्रमा यसअघि थुप्रैले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यसअघि २०७१ साल १७ वैशाखमा बस र ट्रक ठक्कर खाँदा बस भीरबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए ।
यस्तै २०६९ ७ साउनमा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना हुँदा १७ जनाको मृत्युको भएको थियो । २०६९, ८ साउनमा नरपानी दहखोलामा फोर्स जीप दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
२०७० २२ पुसमा फुदवाङ बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । २०७०, १६ पुसमा नरपानी ५ जगतमा ट्याक्टर दुर्घटना हुँदा हरिबहादुर खड्काको मृत्यु भएको थियो ।
२०७२ साल ३ फागुनमा नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
२०७२ साल २२ फागुनमा नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने २०७४, ६ कात्तिकमा नरपानी मुनि ढाँडखोला नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।
२०७६ साल, २० असोजमा स्कारर्पियो जीप नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २०७६, २० कात्तिकमा नरपानीको दहखोलामा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।
किन हुन्छ यस स्थानमा सधैं दुर्घटना
नरपानी–घुम्ती सडकखण्ड अनकन्टार भीर भएको सडक हो । हुन त अर्घाखाँचीको सडक कतै पनि त्यति सजिलो छैन । नरपानी–घुम्ती भन्दा बढी भीर र खतरनाक सडक सुपादेउराली आसपासमा छ । तर, नरपानी–घुम्ती क्षेत्रमा किन हुन्छ पटक पटक सवारी दुर्घटना प्रश्न आफैमा पेचिलो बनेको छ ।
रिपाहा क्षेत्र भएको यस सडकखण्डमा यात्रा गर्दा चैत–वैशाख महीनामा पनि चिसो महशुस हुन्छ । कुनै कुनै स्थान सल्लाघारीले घेरिए पनि अधिकांश स्थानमा साना साना रुखका पोथ्रा मात्र छन् । साँघुरो बाटो, दर्जनौं घुम्ती, आसपास पोथ्रै–पोथ्राले घेरिएको जंगल ।
यस सडकको चित्र हो । रिपाहा ओसिलो भूमि भएको कारण यस स्थानमा ठूला ठूला रुख हुर्किन पाएका छैनन् । ठूला ठूला रुख भएको भए दुर्घटना भइहाले पनि रोक्न सक्ने सामथ्र्य हुन्थ्यो तर यहाँ त्यस्तो छैन ।
दर्जनौं दुर्घटना भएपछि यो सडक फराकिलो बनाउने अभियान शुरु भएको छ । मंगलबारबाट अहिले यो सडकको मोड काट्ने काम सुचारु भएको छ ।
सडक मर्मतसँगै यो सडक आंशिक बन्द गरिएको छ । १० दिनसम्म यो सडक आंशिक रूपमा बन्द भएको छ । हुन त सन्धिखर्कदेखि पत्थरकोट सम्मको सडकको स्तर नमिलेको देखिन्छ । जस्तै साँघुरो बटारिएको सडक, धेरै नजिकमा घुम्ती र मोडहरू छन् । सडकका अधिकांश ठाउँमा मोड पुग्दैन ।
पहाड छिचोलेर सानो साँघुरो बाटो खनेर पत्थरकोटदेखि सदरमुकाम सन्धिखर्क जोडिएको छ । तर, अर्को विषय सुपादेउराली मन्दिर पनि नरपानी नजिकै सडककै छेउमा छ ।
नेपाल–भारतका विभिन्न ठाउँबाट सुपादेउराली मन्दिर दर्शन गर्न थुप्रै दर्शनार्थी आउने भएकाले सवारी साधनबीच कसले छिटो यात्रुहरू पाउने भन्दै दौडिनेहरू होडबाजी नै चल्ने गर्छ । जतिसक्दो ओभरटेक गरेर यात्रु समाउन सुपादेउराली पुग्ने सवारी साधनको तँछाड्मछाड् देख्न सकिन्छ ।
यसकारण हतार गरी गाडी गुडाउँदा पनि दुर्घटना भइरहेको स्थानीय विष्णु भण्डारीको भनाइ छ । उनी भन्छिन्, “गाडीको चाप बढ्दै गइरहेको छ तर सडक बढ्न सकेन । चुनावताका नेताहरूको नारा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड टु लाइन बनाउने बाटो फराकिलो बनाउने भनेर पहिलो नारा बनाएर भोट तान्ने गरेपनि पछि चासो नदिएको बस चालक रोशन परियार बताउँछन् ।
बुधबार साँझ नरपानीमा भएको बस दुर्घटनाको बारेमा शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बैठकले जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा ६ वटै पालिका प्रमुख, सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख सहितको जिल्लाभरि संचालन भएका सडकहरूको अनुगमन गर्ने निर्णय गरेको छ ।
त्यस्तै चालक सहचालक र गाडीधनीलाई १५ दिनभित्र विशेष तालिमको व्यवस्था गर्ने, चालकलाई परिचयपत्र र ड्रेस अनिवार्य गराउने, गाडी गुडाउँदा समय अवधि तोक्ने, खाँचीकोट, डिही हुँदै सन्धिखर्क वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने, ढोरपाटन सडकमा पनि सवारी साधन चलाउन गाडीधनीलाई अनुरोध गर्ने लगायत विषयमा निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए ।
अर्घाखाँची जिल्ला पहाडै पहाडले घेरिएको जिल्ला हो । तर अप्ठ्यारो सडकमा प्रायःजसो दुर्घटना कम हुने गरेको छ । जहाँ सजिलो सडक छ त्यहाँ बढी दुर्घटना हुने गरेका छन् । कारण अप्ठ्यारोमा चालक आफैमा होसियार हुने गर्दछन् ।
गाडी गुडाउनु अघि गाडी चेकजाँच नगर्नु, हतारमा दौड्नु, योग्य, परिपक्व अनुभवी चालक नहुनु, समयको ख्याल नहुनु, गाडी चलाउनुअघि चालकको मुड खराब हुनु, चिन्तामा गाडी गुडाउनु, ओभरलोड यात्रु बोक्नु, ओभरटेक गरेर यात्रु समात्न खोज्नु, गाडी चलाउँदा फोनमा व्यस्त हुनु, चालक युवतीसँग जिस्कनु, यात्रुले कुरा गरेर चालकको ध्यान अन्यत्र मोड्नु पनि दुर्घटनाका कारण हुने गर्दछन् ।
नरपानीदेखि फुदवाङसम्मको सडकमा बढी दुर्घटनाबाट मानवीय क्षति भएकाले त्यस क्षेत्रमा सडक फराकिलो बनाउनुका साथै सडकको छेउमा बलियो बार लगाउनुपर्ने स्थानीयको माग छ । यो क्षेत्रमा गाडी गुडाउँदा बिस्तारै गतिमा होसियार भएर चलाउन पनि चालकलाई निर्देशन तथा सुझाव दिइएको छ ।