सागः महिला भलिबलमा नेपाल सेमिफाइनलमा, बांग्लादेश बाहिरियाे
दक्षिण एसियाली खेलकद (साग) महिला भलिबलमा नेपाल सेमिफाइन प्रवेश गरेको छ ।
शुक्रबार दिउँसो भएको खेलमा भारतले बांग्लादेशलाई पराजित गरेसँगै समूह ‘ए’ मा रहेको नेपाल सेमिफाइनल प्रवेश गरेको हो । भारतले बांग्लादेशलाई तीन–शून्यको सोझो सेटमा पराजित गरेको छ ।
यसअघि नेपालसँग पराजित भइसकेको बांग्लादेश भने समूह चरणबाट बाहिरिएको छ । बांग्लादेश नेपालसँग पनि तीन–शून्यकै सोझो सेटमा पराजित भएको थियो ।
नेपाल र बांग्लादेशलाई पराजित गर्दै भारत विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ मा दुई टीम मात्रै भएकाले श्रीलंका र माल्दिभ्स सेमिफाइल समीकरणमा प्रवेश गरिसकेको छ ।
पाकिस्तानले सहभागिता नजनाए पछि समूह ‘बी’का दुवै टीमले सेमिफाइनल खेल्ने भएका हुन् । यी दुई टीम मध्ये नेपालले बिजेतासँग फाइनलका लागि भिड्नुपर्नेछ । भारतसँग अघिल्लो सागमा समेत उपाधि भिडन्तमा पराजित भएको नेपाल यसपटक ऐतिहासिक जित निकाल्ने तयारीमा छ ।
केही दिन अगाडि मात्रै बांग्लादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन उपाधि जितेको नेपाल साग विजेता बन्नेगरी मैदानमा उत्रिने प्रशिक्षक जगदीश भट्टले बताए ।