थप समाचार शुक्रबार, मंसिर १३, २०७६

रक्सी खान सप्तरी आएका भारतीय नागरिकलाई एक वर्ष कैद

हिमालखबर

मादकपदार्थ सेवन गर्न हतियारसहित सप्तरी आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ ।

बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुरका २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो ।

कैद सजायका साथै अदालतले रु १० हजार जरिवाना गरेको छ । छिन्नमस्ता गाउँपालिकामा टाइगर वियर र गोल्डेन ओके नामक रक्सी सेवन गरी हो–हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

उनीसँगै मादकपदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन् ।
छिन्नमस्ता–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल गत १६ वैशाखदेखि पूर्पक्षका लागि राजविराज कारागार थुनामा छन् ।

प्रतिकृया दिनुहोस