गड्तौलाको समाचार संग्रह ‘बदलिएको गन्तब्य’ सार्वजनिक
-नर्थ क्यारोलेना, अमेरिका
हिमाल खबरपत्रिका सहकर्मी गोपाल गड्तौलाको समाचार संग्रह ‘बदलिएको गन्तब्य’ सार्वजनिक भएको छ ।
अमेरिकाको नर्थ क्यारोलेना राज्यको क्विनसिटी शार्लटस्थित घरबारबिहीनहरुको आश्रयस्थलमा आयोजित सभामा उक्त पुस्तक विमोचन गरिएको छ ।
८४ पृष्ठको पुस्तकमा भुटानी शरणार्थीको शिबिर बास, पुनर्वास र पुनर्वासपछिको अवस्था सम्बन्धी गडतौलाले नेपाल, अमेरिका र बेलायतबाट लेखेका समाचार समेटिएको छ ।
पुस्तक विमोचन गर्दै प्रवुद्ध भुटानी फुर्वा लामाले भने, “पुस्तकले अभावसँग पौंठेजोरी गर्दै नेपालका शरणार्थी शिबिरमा विताएको कष्टपुर्ण दुई दशकको स्मरण गराएको छ ।”
लामाले शासकीय अनाचारपछि भुटानबाट खेदिएको पनि स्मरण गरे । ७ बर्षअघि पुर्वी मोरङको शनिश्चरे शिविरबाट अमेरिकाको पेन्सिलभेनिया पुनर्वास भएका लामाले भने, “हामीले धेरै दुखपछि अमेरिकामा बास पाएका हौं ।”
विमोचन सभामा बोल्दै पुर्व भुटानी शरणार्थी जमुना प्रधान (६७) ले भनिन्, “निस्तै आधा पेट खाएर विताएका शरणार्थी शिबिरका दुखी दिनहरु भुल्न सकिँदैन ।”
पस्तक विमोचन सभाका विशेष अतिथी वरिष्ठ गीतकार बुद्धबीर लामाले भुटानी शरणार्थी बारे अध्ययन गर्न चाहनेका लागि गड्तौलाद्वारा लिखित पुस्तक बदलिएको गन्तव्य सहयोगी हुने विश्वास ब्यक्त गरे ।
विशेष अतिथि चिनियाँ मुलका अमेरिकी ब्यापारी माइकल च्याङले अमेरिकी पर्व ‘थ्याङ्क्स गिभिङ् डे’ को अवसरमा विमोचित पुस्तक पुनर्वास भएका भुटानीको नयाँ पुस्ताका लागि उपहार भएको बताए ।
नर्थ क्यारोलेना हाइप्वाईन्टका सुनिल प्रधान, पत्रकार गडतौला, सञ्जिव दुलाल, नवराज सुवेदी, पदम खनाल, किरात समुदाय नर्थ क्यारोलेनाका अध्यक्ष आइत योङ्या सुब्बा, गायक किरण इजम लिम्बु लगायतले पुस्तकबारे धारणा राखेका थिए ।