पोखरामा भूकम्पपछि पहिलोपटक सबै होटेल भरिभराउ
गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा शतप्रतिशत भरिभराउ भएका छन् ।
आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पुर्याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष भरतराज पहारीले जानकारी दिए ।
“अङ्ग्रेजी नयाँ वर्षमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,” पहारीले भने, “नयाँ वर्षलाई लक्ष्य गरी आन्तरिक पर्यटकका साथै धेरै भारतीय पर्यटक यतिखेर पोखरा आएका छन् ।”
पोखराको पर्यटन प्रवर्द्धनका लागि भारतका विभिन्न ठाउँमा पुगी चलाएका ‘चलिए पोखरा’ जस्ता धेरै कार्यक्रमको प्रभावकारिता विस्तारै बढ्दै गएको उनले बताए ।
आन्तरिक एवम् बाह्य पर्यटककको आगमनका साथै पोखरामा जारी सडक महोत्सवका कारण शनिबार पोखरामा ५० हजारभन्दा बढी पर्यटक फेवाताल किनारमा देखिन्थे ।
होटल सङ्घमा आबद्ध यहाँका लगभग चार सय होटलका साथै आबद्ध हुने क्रममा रहेका लगभग ५० वटा होटल गरी चार सय ५० होटेलले पोखरामा पर्यटकलाई सेवा प्रवाह गरिरहेका छन् ।
पोखरा क्षेत्रमा पर्यटक बस्ने होटलमा लगभग नौ हजार कोठामा २० हजार बेड सङ्ख्या रहेको जानकारी दिँदै अध्यक्ष पहारीले पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनास लगायतका स्थानका होटेलमा समेत गरि प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता रहेको बताए बताए ।
“नयाँ वर्ष लगायतका विशेष अवसरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रवाह गर्नु अपरिहार्य छ,” नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया भन्छन् “जति पर्यटक आए पनि सहज एवम् गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक वैकल्पिक जनशक्ति तयार गर्न पनि पर्यटनसम्बद्ध सङ्घसंस्था बेलैमा लाग्नु आवश्यक छ ।”
पोखरामा नयाँ वर्षको आगमनपूर्व शनिबार देखिएको पर्यटकको चापले भूकम्पपछि प्रभावित बनेका यहाँको पर्यटन व्यवसायीलाई ठूलो ऊर्जा मिलेको ल्यान्डमार्क होटल, लेकसाइडका सञ्चालक ओमप्रकाश पाण्डे बताउँछन्।
ल्यान्डमार्क होटेलमा रहेका ७५ कोठामध्ये सबै कोठा पर्यटकले भरिएको जानकारी दिँदै उनले आएका पर्यटकमध्ये ५० प्रतिशत आन्तरिक, ४० प्रतिशत भारतीय र १० प्रतिशत तेस्रो मुलुकका रहेको बताए ।
अङ्ग्रेजी नयाँ वर्षमा अन्य देशमा झैझगडा हुने भए पनि पोखरा शान्तिपूर्ण एवम् रमणीय प्राकृतिक सुन्दरताले मन लोभ्याउने भएकाले धेरै भारतीय पर्यटकको रोजाइको स्थल पोखरा हुने गरेको भारतको कलकत्ताबाट आएका नेचुरल क्लब एन्ड होलिडेज ट्राभल्सका सञ्चालक भाष्कर बागले बताए ।
उनले सन् २००२ देखि भारतीय पर्यटक लिएर पोखरा ल्याइरहेका छन् । विदेशी पर्यटकका साथै पछिल्ला वर्षमा नेपालीमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने संस्कृति बढ्दै गएको काठमाडौँको सामाखुसीबाट पोखरा घुम्न आएका विद्यार्थी सुनिश सङ्ग्रौलाले बताए ।
नयाँ वर्षमा धेरै आन्तरिक पर्यटकको रोजाइ पोखरा पर्ने गरेको बताउँदै उनले पर्यटकको आगमनलाई निरन्तरता दिन यहाँका व्यवसायीले अघिपछि जस्तै समान किसिमको खाद्य परिकार तथा त्यही किसिमको सेवा प्रवाह गर्नु आवश्यक रहेको औँल्याए ।
सङ्ग्रौला जस्तै कमाडोलबाट अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका इमाडोलका सुशील बडाल पर्यटकको सङ्ख्या बढी भएको समयमा यही हो मौका भनी महँगो मेनुका साथै कोठाहरू महँगो गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यहाँका पर्यटन व्यवसायी लाग्नुपर्ने बताए ।
वासुदेव पौडेल, रासस