उद्धव ठाकरे बने महाराष्ट्रका नयाँ मुख्यमन्त्री
भारतको महाराष्ट्रमा शिवसेना प्रमुख उद्धव ठाकरे नयाँ मुख्यमन्त्री बनेका छन् ।
५६ जना मात्र विधायक रहेको शिवसेनाले कांग्रेस पार्टी र राष्ट्रवादी कांग्रेस पार्टी ‘एनसीपी’ को समर्थनमा सरकार बनाएको हो ।
कुल २८८ विधायक सिट रहेको महाराष्ट्रमा ५६ सिट जितेर शिवसेना दोस्रो ठूलो दल बनेको थियो । सबभन्दा ठूलो दल बीजेपीले १०५ सिट जितेको थियो ।
शिवसेनाको ५६, कांग्रेस पार्टीको ४४ र एनसीपी (राष्ट्रवादी कांग्रेसको ५४ सिट मिलाएर ठाकरेले सरकार बनाएका हुन् ।
यसअघि सरकारको साझेदारी गर्दैआएका बीजेपी र शिवसेनाबीचको गठबन्धन टुटेपछि नयाँ समीकरणमा उक्त तीन पार्टी एक भएका हुन्।
दक्षिणपन्थी हिन्दुवादी पार्टी शिवसेना बीजेपीसँग वैचारिक रूपमा निकट भएपनि गठबन्धन टुटेपछि अर्को विकल्पमा गएको हो ।
विधानसभा अध्यक्ष कांग्रेसलाई र उपमुख्यमन्त्री एनसीपीलाई दिनेगरी सहमति भएको छ ।
सरकारमा ४३ मन्त्री हुने जसमध्ये शिवसेनाले १५ जना मन्त्री बनाउने सहमति भएको छ । कांग्रेस र एनसीपीले १२ र १६ जना मन्त्री पाउने सहमति भएको बताइएको छ ।
सबै ठाउँमा आफ्नो पकड जमाउँदै गरेको बीजेपीलाई यो गठबन्धनले ठूलो धक्का लागेको बताइन्छ ।
मूल रूपमा बीजेपीलाई सत्ताबाहिर राख्नलाई नै यो गठबन्धन गरिएको बताइन्छ । –एजेन्सी