दुर्घटनाको कारण मादक पदार्थ सेवन, मृतककाे संख्या चार पुग्याे
हुम्लामा टिपर दुर्घटनाको कारण चालकले मादक पदार्थ सेवन रहेको खुलेको छ ।
मादक पदार्थ सेवन गरी चलाएको लु ४ ख ३२६९ नम्बर पिटर नाम्खा गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
घाइते १३ मध्ये जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो ।
मादक पदार्थ सेवन गरी टिपर चलाउने काभ्रे बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन् ।
टिपरसडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए ।