थप समाचार बुधबार, मंसिर ११, २०७६

के दिने बालबालिकालाई उपहार ?

लक्ष्मी बस्नेत

बालबालिकालाई उपहार किन्दा क्षणिक मनोरञ्जन भन्दा पनि फाइदाजनक भए/नभएको हेरेर छनोट गर्नुपर्छ।

काठमाडौं बबरमहलकी सीता श्रेष्ठ केही वर्ष अघिसम्म एक निजी विद्यालयमा पढाउँथिन् । त्यतिवेला विद्यार्थीलाई उपहार दिनुपर्दा कथाका किताब दिने गरेको सम्झिंदै उनले भनिन्, “मैले ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँथे र उनीहरू सबैको जन्मदिनमा कथाका किताब दिने गरेकी थिएँ ।”

किताब दिएपछि उनी विद्यार्थीले कत्तिको चासो राखेर पढे भनेर केही दिनपछि सोध्ने र लेख्न समेत लगाउने गर्थिन् । किताबमा भएका विषयवस्तुबारे बुझेर राम्रो लेख्नेलाई फेरि अर्को उपहार दिन्थिन् ।

उनी भन्छिन्, “यसो गर्दा विद्यार्थीमा किताब पढ्ने बानीको विकास हुन्छ; विस्तारै पत्रपत्रिका र पुस्तकहरू भेट्ने वित्तिकै अध्ययन गर्न थाल्छन् ।”

अधिकारकर्मी रूपा जोशी बालबालिकालाई उपहार दिंदा पहिलो नम्बरमा किताब र त्यसपछि खेल्ने कुरा दिनुपर्ने बताउँछिन् ।

हिजोआज उपहार अर्थात् गिफ्ट दिने चलन बढ्दो छ । उपहार भन्ने वित्तिकै बालबालिकाहरू खुशी हुन्छन् । उनीहरूलाई खुशी पार्न पनि ‘उपहार दिन्छु’ भन्ने गरिन्छ ।

कतिपय बालबालिका जन्मदिन आउनुभन्दा महीनौं अघिदेखि अभिभावक/नजिकका आफन्तलाई ‘मेरो जन्मदिन (बर्थ डे) मा के उपहार दिने ?’ भनेर सोधिरहेका हुन्छन् ।

बालबालिकाले परीक्षामा राम्रो अङ्क ल्याए भने पनि उपहारको अपेक्षा गर्छन् । अभिभावक, आफन्त वा साथीभाइले पनि उनीहरूलाई खुशी पार्न उपहार दिने गर्छन् । कतिपय निजी विद्यालय/शिक्षकहरूले पनि सानो कक्षाका विद्यार्थीलाई जन्मदिनमा उपहार दिने गर्छन् ।

बालबालिकालाई उपहार दिंदा कति विचार पुर्‍याइएको छ त्यो महत्वपूर्ण छ । उपहार किन्दा क्षणिक मनोरञ्जन भन्दा पनि फाइदाजनक भए/नभएको हेरेर छनोट गर्नुपर्छ ।

युनिसेफ नेपालको सञ्चार शाखाकी पूर्व प्रमुख समेत रहिसकेकी अधिकारकर्मी जोशी ब्याडमिन्टन, टेबुलटेनिस, क्यारमबोर्ड जस्ता समूहमा खेल्ने खेल सामग्री उपहार दिंदा उनीहरू ‘स्वस्थ’ र ‘सामाजिक’ बन्न सहयोग पुग्ने बताउँछिन् ।

नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक एवं साइको थेरापिष्ट उमङ्गजङ्ग शाह पनि बच्चालाई खेल सामग्री उपहार दिनुको धेरै फाइदा देख्छन् ।

उनी भन्छन्, “खेल सामग्री किन्दा गुणस्तर र सामान्यज्ञान बढ्ने खालको छ कि छैन भन्नेमा चाहिं ख्याल गर्नुपर्छ ।” खेलौना (ब्लकहरू) तथा ‘वाटर कलर’ को बट्टामा विषादी नभएको अर्थात् ‘नन टक्सिक’ लेखिएका मात्रै किन्न शाहको आग्रह छ ।

उपहार जसलाई दिने हो उनीहरू खुशी होउन् भन्ने चाहना दिनेको पनि हुन्छ । त्यसैले रुचि विचार गरेर उपहार छनोट गर्नु उपयुक्त हुन्छ । जस्तै गीत गाउने/बजाउनेलाई मादल, बाँसुरी, हार्मोनियमहरू दिन सकिन्छ । दिंदा महत्व पनि बुझाएर दियो भने त्यसको उपयोग राम्रोसँग गर्न सक्छन् ।

अलि सानो कक्षामा पढ्नेलाई स्केच गरिएका तथा रङ भर्ने किताब, कलरिङ बक्स, अक्षर राम्रो बनाउन अभ्यास गर्ने खालका कापीहरू दिन सकिन्छ । ५/६ कक्षा माथि अध्ययन गर्नेलाई दैनिकी लेख्न मिल्ने डायरी तथा पे्ररक व्यक्तित्वहरूको जीवनीका पुस्तक दिनु उपयुक्त हुन्छ ।

अर्थपूर्ण तरिकाले उपयोग गर्न सक्ने सामान उपहार दिंदा लिने र दिने दुवैलाई फाइदा हुन्छ । जस्तै घण्टी (अलार्म) बजाउन मिल्ने घडी दिएर त्यसको अर्थ बुझाइयो भने कुनै पनि काम निश्चित समयमा सक्नुपर्छ भन्ने बानीको विकास हुन्छ ।

मोबाइलजन्य (स्क्रिनयुक्त) सामानहरू उपहारका रुपमा नदिन विज्ञहरूको जोड छ । यसले एक्लै रमाउने र विस्तारै आफन्तहरूको समेत मतलब नगर्ने बानी हुन्छ र अन्ततः एकलकाँटे हुनसक्छन् ।

त्यस्तै मोबाइलमा खेलिने कतिपय खेलहरूले उत्तेजित बनायो भने उसले दैनिक व्यवहारमा पनि त्यही बानी देखाउँछ । युट्यूब तथा विभिन्न अनलाइनमा नराम्रा कुराहरू हेर्ने बानी लागेर छोड्न सकेन भने एक किसिमको कुलतमै फसेसरह हुन्छ ।

स्क्रिनको लतबाट आँखा, ढाड, घाँटीको पछाडिपट्टिको हड्डी दुख्ने समस्या तत्कालै देखिन सक्छ । त्यस्तै दीर्घकालमा छालामा एलर्जी, आँखाको दृश्य संयोजन शक्ति कमजोर हुने र शरीरका जोर्नीहरू दुख्ने समस्या आएको विभिन्न अध्ययनले देखाएका छन् ।

त्यसैले यस्ता सामानको प्रयोग निरुत्साहित गर्न पनि बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुर्‍याउने खालको उपहार दिऊँ ।

 

प्रतिकृया दिनुहोस