साग खेलकुद महिला भलिबलमा नेपालको विजयी शुरुवात
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि शुरु भएको महिला भलिबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले बगंलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । एकपक्षीय खेलमा नेपालले बगंलादेशलाई २५–९, २५–९ र २५–११ ले हराएको थियो ।
भलिबलमा नेपालले राम्रो शुरुवात गरेको छ । नेपालको मुख्य प्रतिस्पर्धा भारतसँग हुने बताइएको छ ।
दोस्रो खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समूह ए मा भारत र बंगलादेश छन् । समूह बी मा श्रीलंका, पाकिस्तान र मालदिभ्स रहेका छन् ।
आजै हुने भनिएको महिलातर्फको अर्को खेलमा पाकिस्तान उपस्थित नभएपछि मालदिभ्सले वाकओभर पाएको छ । वाकओभरपछि मालदिभ्सले ३ अंक पाएको छ ।
पुरुष भलिबलको उद्घाटन खेल पनि आजै हुँदैछ । नेपाल र बगंलादेश आमने सामने हुँदैछन् । खेल साँझ ७ बजे शुरु हुनेछ । समूह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले दोस्रो खेलमा बिहीबार भारतसँग खेल्ने छ ।