दाहालले भने– देवघाट पठाउनुपर्ने मान्छेले नेतृत्व गर्दा कांग्रेस टीठलाग्दो बन्यो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कांग्रेसलाई प्रतिपक्षी दलको हैसियतमा रहन आग्रह गरेका छन् ।
उपनिर्वाचनको बृहत सभालाई सम्बोधन गर्न पोखरा पुगेका दाहालले कांग्रेसले प्रतिपक्षी दलको हैसियत समेत कायम राख्न नसकेको बताए ।
“गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको पार्टी कांग्रेस नै हो र ? भन्ने अवस्था बनेको छ” अध्यक्ष दाहालले कांग्रेसलाई सुझाव दिदै भने, “कांग्रेस त्यति तल पनि नझरोस् । कम्तिमा प्रतिपक्षी दल भएको देख्न चाहन्छौं ।”
प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा कालापानी क्षेत्र अतिक्रमण गरी भारतले नक्सा छापेको भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइप्रति दाहालले कडा आपत्ति जनाए । “प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा ‘राम्रो काम थाल्नुभयो’ भन्ने देउवाले पोखरामा जे बोले त्यो सुन्न समेत सकिन्न”, अध्यक्ष दाहालले भने ।
पराजित मानसिकताका कारण सभापति देउवाले यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो । “शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएको कांग्रेस इतिहासमा किम्बदन्ती बन्ने चिन्ता भयो” दाहालले भने, “कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने अवस्था नआओस् ।”
सभापति देउवा प्रति आक्रामक भाषण गरेका दाहालले देवघाटमा बस्ने उमेर भएको समेत आरोप लगाए । “देवघाटतिर जानुपर्ने ७७ वर्षका मान्छेलाई अगाडि बढाएको छ” दाहालले भने, “६५ वर्षे (प्रधानमन्त्री) लाई रेष्टको सल्लाह दिने ?”
अध्यक्ष दाहालले कांग्रेस नेतृत्वकै कारण टीठलाग्दो पार्टी बन्दै गएको बताए । कांग्रेसका नेताहरुलाई झुट नबोल्न आग्रह गरे ।
हेलिकोप्टरबाट पोखरा पुगेका दाहालले संक्षिप्त सम्बोधनका क्रममा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख बनाउने पार्टी नेकपा नै भएको बताए ।
“यो देशमा दलित प्रधानमन्त्री पनि नेकपाकै प्रस्तावमा हुन्छन् । जनजाति पार्टी प्रधानमन्त्री पनि नेकपाकै प्रस्तावमा हुन्छन्”, उनले भने ।
कास्की–२ मा हुने उपनिर्वाचनबाट नेकपाका उम्मेद्वार विद्या भट्टराईको जित सुनिश्चित भएको बताएर अध्यक्ष दाहाल धरानतिर लागेका छन् । धरान उपमहानर पालिकामा हुने बृहत सभा सम्बोधन गरेर दाहाल भक्तपुर फर्केन कार्यक्रम तय भएको छ ।