उपनिर्वाचनका कारण तीन दिन विद्यालय बिदा
कास्की क्षेत्र नं २ मा १४ मंसीरमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ ।
पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
बिदाको समय विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम समेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले बताए ।
उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।