कूटनीतिक बाटो सीमा विवादको हल: पूर्वमन्त्री पाण्डे
–एस उपाध्याय
पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले सबै राजनीतिक दल, नागरिक समाज सञ्चारकर्मी सबै एक भएर मात्रै राष्ट्रको सीमा रक्षा गर्न सकिने बताएका छन् ।
अन्य देशहरूमा पनि यस्ता सीमा समस्या हुने गरेको बताउँदै उनले राष्ट्रियताको सवालमा सबै एक हुने गरेको बताए ।
प्रेस संगठन नेपाल पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतको सीमा विवादबारे बोल्दै नेता पाण्डेले भारतसँग भौतिक रुपमा युद्ध गर्न सकिने अवस्था नभएको र गर्न पनि नहुने बताए ।
पूर्वमन्त्री पाण्डेले कूटनीति पनि एउटा युद्धको चरण भएकाले कूटनीतिक माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने धारणा राखे ।
उनले रोजगारी सृजना र उद्योग धन्दा फस्टाउने खालको नीति अवलम्बन गरी नेपाललाई समृद्धिको मार्गमा अघि बढाउन आवश्यक रहेको बताए ।
प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे मगरको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सहजीकरण सहसंयोजक अनुप तिवारीले गरेका थिए।