थप समाचार मंगलबार, मंसिर १०, २०७६

१७० बोरा अखाद्य मैदा नष्ट

रासस

काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेको आठ हजार ५०० किलो (१७० बोरा) मैदा नष्ट गरिएको छ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो।

हुमागाईंसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँचखाल उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले गत कात्तिक ६ गते गरेको बजार अनुगमनका क्रममा सो उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि बन्द गरिएको थियो।

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिव भण्डारीका अनुसार उत्पादन भएको मितिले ४५ दिनभित्र प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दुई महीनाभन्दा बढी मिति नाघेको १७० बोरा मैदा थिए। अहिलेको बजारमूल्य अनुसार उक्त परिमाणको मैदाको मूल्य रु.४ लाख २५ हजार रहेको भण्डारीले बताए।

प्रतिकृया दिनुहोस