मस्तिष्कको स्वास्थ्यका लागि यी खानेकुरा
मस्तिष्कको स्वास्थ्यका लागि हाम्रो दैनिक आहार विहारको ठूलो भूमिका हुन्छ। स्मरणशक्ति बढाउन विभिन्न खाद्य पदार्थ उपयोगी हुन्छन्। त्यस्ता केही पोषिला वस्तुबारे चर्चा गरौं:
ब्रोकाउली
यदि कसैको स्मरणशक्ति कमजोर छ भने उनीहरुले आफ्नो आहारामा ब्रोकाउली समेट्नु फाइदाजनक हुन्छ। मस्तिष्कको क्षमता बढाउन ब्रोकाउली पौष्टिक मानिन्छ। यसमा भिटामिन, मिनरल र एन्टीअक्सिडेन्ट्सको मात्रा प्रशस्त हुन्छ। ब्रोकाउलीमा खास गरी भिटामिन ई भरपूर पाइन्छ, जुन मस्तिष्कको विकासमा सहयोगी हुन्छ। ब्रोकाउलीमा फाइबर हुने भएकाले यसलाई सलाद, पास्ता, सब्जी आदिमा उपयोग गर्न सकिन्छ।
पालक
पालकमा आइरन र भिटामिन ई पाइन्छ। यसका साथै अन्य पोषक तत्व पनि पाइने पालकको सेवनले मस्तिष्क बलियो हुन्छ र राम्ररी काम गर्ने क्षमता बढ्छ।
नट्स
शरीरमा भिटामिनको कमी छ भने दैनिक रुपमा नट्स खानुपर्छ। नट्स अर्थात् बदाम, ओखर र काजुमा भिटामिन ई भरपूर पाइन्छ। दैनिक करीब एक मुठी नट्स खान सकिन्छ। शरीरको विकासको लागि पनि यो फाइदाजनक हुन्छ।
एभोकाडो
फलहरुमध्ये एभोकाडो निकै पौष्टिक मानिन्छ। खाँदा यो जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि उत्तिकै गुणकारी पनि। यसमा एन्टीअक्सिडेन्ट्सको मात्रा धेरै हुन्छ। भिटामिन ई को राम्रो स्रोत भएकाले यसबाट तपाईंको मस्तिष्कको विकास मात्र हुँदैन, कपाल र छालाको स्याहारमा पनि फाइदा पुर्याउँछ। शरीरको आवश्यकता पूरा गर्न दैनिक एउटा एभोकाडो खानु उत्तम मानिन्छ।
ओलिभ आयल
ओलिभ आयल पनि मस्तिष्कको क्षमता बढाउने राम्रो स्रोत हो। यसमा भिटामिन ई प्रशस्त पाइन्छ। यो मुटुको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ। - एजेन्सी