दिनमा कति नून खाने ?
हाम्रो दैनिक खानपानमा नून टुट्दैन। हामीमध्ये कतिपय तिक्खर स्वादका लागि बढी नै नून खाइरहेका हुन्छौं। तर बढी नूनले स्वास्थ्यमा असर पर्न सक्छ। स्वस्थ रहन दिनमा कति मात्रामा नून खाने त?
स्वादको लागि खाइने नून बढी खाए उच्च रक्तचापदेखि मुटुसम्बन्धी समस्या जस्ता गम्भीर असर निम्तिन सक्छन्। यद्यपि शरीरलाई नूनमा हुने सोडियम पनि आवश्यक हुन्छ। यसै कारण स्वस्थ रहन दैनिक निश्चित मात्रमा नून सेवन गर्नुपर्छ।
अमेरिकन हार्ट एशोसिएसन (एएचए) का अनुसार एक व्यक्तिले दिनभरमा २,३०० मिलिग्राम मात्र नून सेवन गर्नुपर्छ। यो मात्र बढी नून खानेहरुको लागि तोकिएको हो। जबकि, दैनिक नूनको उचित मात्रा १,५०० मिलिग्रामभन्दा बढी हुनुहुँदैन। यसबारे विचार नपुर्याएर स्वादको पछि लाग्दा हामी उच्च रक्तचापको शिकार हुन्छौं।
प्याकेटमा पाइने चिप्स जस्ता खाद्य पदार्थ मार्फत हामी आवश्यकता भन्दा बढी नून खाइरहेका हुन्छौं। तिनमा अत्यधिक नून र चिल्लो पदार्थ हुन्छ।
नून बढी खाँदा मुटुसम्बन्धी समस्या मात्र होइन, डिहाइड्रेशन पनि बढ्न सक्छ।
शरीरमा नूनको मात्र बढी भए पानी जरुरतभन्दा बढी जम्मा हुन्छ, यो स्थितिलाई 'वाटर रिटेन्सन' भनिन्छ। जसका कारण हात, गोडा र अनुहार सुन्निन सक्छ।
अर्कातिर, शरीरलाई आवश्यक पर्ने भन्दा कम नून खाँदा बिरामी परिन्छ भन्नेतर्फ पनि ध्यान राख्नु जरुरी छ। नून एक प्राकृतिक तत्व हो, जसमा सोडियम र क्लोरिन हुन्छ। जब हामी नून खान्छौं, तब यो शरीरमा यिनै दुई तत्वमा विभाजित हुन्छ। जुन शरीरका लागि आवश्यक हुन्छ। यसै कारण नून कति खाने भनेर शरीरको आवश्यकताले निर्धारण गर्छ।
शरीरमा नून कम भए शिथिलता पैदा हुन्छ। मांसपेशीमा कमजोरी र टाउको दुख्ने जस्ता समस्या पनि हुन सक्छ। शरीरमा नूनको कमीले मस्तिष्कमा क्षति हुन सक्ने अनुसन्धानले देखाएको छ। - एजेन्सी