कांग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी
नेपाली कांग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन् ।
गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
सांसद यादवले ५६९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए ।
सभापतिमा विजयी भएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भ उनका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो ।
यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गरे ।
पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
रासस