उपप्रधानमन्त्री यादवद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
उपप्रधानमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद पुनर्गठन भएको साता दिन पछि कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
स्वास्थ्य मन्त्रालयबाट मन्त्री यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रीकै हैसियतमा विदेश भ्रमणमा रहँदा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । बुधबार मन्त्रिपरिषद पुनर्गठन भए पनि मन्त्री यादव भने शुक्रबार मात्रै स्वदेश फर्किए ।
स्वदेश फर्किए पछि पार्टी नेताहरुसँग बैठक बसेका मन्त्री यादवले सोमबार मात्रै नयाँ मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै माया गरेको प्रतिक्रिया दिएका छन् ।
पत्रकारहरुको प्रश्नमा मन्त्री यादवले भने, “धेरै मन्त्रालयको अनुभव होओस्, अनुभवी नेता बनोस् भन्ने माया हुनुपर्छ ।” मन्त्री यादवले संविधान संशोधन कार्यान्वयनको बेला आएको बताए ।