देउवाको अभिव्यक्ति पार्टीको ठहर होइनः प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको अभिव्यक्तिबारे प्रष्ट्याउने प्रयास गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरी प्रवक्ता शर्माले सभापतिको अभिव्यक्ति आशंका मात्रै भएको बताए ।
शर्माले भने, “यो पार्टीको ठहर होइन, सभापतिको आशंका मात्रै हो ।” शनिबार पोखरामा आयोजित उपनिर्वाचनको सभामा सभापति देउवाले नेपालका प्रधानमन्त्रीसँग सल्लाह गरेरै भारतले नेपालीको भूमि अतिक्रमण गरी नक्सा सार्वजनिक गरेको बताएका थिए ।
प्रवक्ता शर्माले सत्तारुढ नेताहरुले विपक्षी दलका सभापतिलाई जवाफ दिनु भन्दा भारतसँग वार्ता गर्न सुझाव दिए । उनले भने, “सभापतिलाई सरकारलाई जवाफ दिइरहनु पर्दैन । मोदीसँग कुरा गरे हुन्छ ।”
नेपाली भूमि अतिक्रमण भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षसँग कुरा गर्न ढिलाइ गरिरहेको उनले बताए । सवै दलले भारतसँग वार्ता गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले केही नगरेपछि सभापति देउवाले आशंका गरेको प्रवक्ता शर्माको प्रष्टोक्ति थियो ।
कास्की–२ मा हुने उपनिर्वाचनको सभामा सभापति देउवाले गम्भीर आरोप लगाए पछि नेकपाका प्रवक्ता र सरकारका प्रवक्ताले कडा आपत्ति जनाएका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सभापति देउवाको अभिव्यक्ति जति निन्दा र भत्र्सना गर्दा पनि कम हुने बताएका छन् ।