सरकार राणा शासनकै नयाँ संस्करणः नेता पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् ।
रिपोर्टस क्लब दाङले सोमबार गरेको कार्यक्रममा नेता पौडेलले सरकार र सत्तारुढ नेताहरु राणा शासनकै नयाँ संस्करण भएको बताए । नेता पौडेलले भने, “राणा शासनकै पद चिन्हमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन् । एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएका छन् ।”
द्वन्द्वकालमा ठूलो लडाइँ लडेर कांग्रेसले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको उनले बताए । भने, “हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ ।”
वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको निर्वाचनमा जुटेको उनको भनाइ थियो ।
नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए ।
उनले भने, “यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर कांग्रेसले शुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गरिरहेको छ ।”