बिमल घर्तिमगर सहित तीन खेलाडीले साग खेल्न नपाउने
नाइट क्लबमा भेटिए पछि कार्बाहीमा परेका राष्ट्रिय फुटबल टीमका तीन खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् ।
सन् २०२२ को विश्वकप र २०२३ को एसियाकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेल गुमाएका बिमल घर्तिमगर, अञ्जन बिष्ट र दिनेश राजवंशीले साग समेत खेल्न नपाउने भएका छन् । कुवेत विरुद्ध हुने खेलका लागि भुटान जाने अघिल्लो रात नाइट क्लब गएका कारण यी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्बाही गरेको छ ।
एन्फाले पुरानै निर्णयलाई कायम राखे पछि स्ट्राइकर बिमल, फिडमिल्ड अञ्जन र डिफेन्डर दिनेशले साग गुमाउने भएका हुन् । नाइट क्लबमा भेटिएका अर्का फिडफिल्डर सन्तोष तामाङ भने कुवेत विरुद्धको खेलमा समेत टीममा थिएनन् ।
यी तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई अवसर दिइने एन्फाले जनाएको छ । नाइट क्लबमा भेटिएका यी तीन खेलाडीलाई गरिने कार्बाहीबारे भने अहिलेसम्म निर्णय नभएको एन्फाका प्रवक्ता किरण राईले बताए ।