अर्थ/बजार सोमबार, मंसिर ९, २०७६

मंसीर १५ देखि बुद्ध एयरको विराटनगरबाट काठमाडौं हुँदै पोखरा उडान

रासस

फाइल तस्वीर

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदेश-१ बाट प्रादेशिक हवाई उडान शुरु गर्ने भएको छ।

विराटनगर र भद्रपुरदेखि काठमाडौं हुँदै पोखरासम्मको ट्रान्जिट उडानसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी डिसेम्बर १ (मंसीर १५) देखि उडान शुरु गर्ने बताए। शुरुमा सातामा तीन दिन उडान सञ्चालन गर्ने बुद्ध एयरको योजना छ।

पहिलो चरणमा विराटनगरबाट काठमाडौंलाई ट्रान्जिट बनाएर पोखरा उडान गर्ने र त्यसपछि भद्रपुरबाट पनि शुरु गर्ने बताइएको छ।

परीक्षणस्वरुप ६ महीना उडान सञ्चालन गर्दा कम्पनीलाई नोक्सान नभए निरन्तरता दिइने समेत बस्नेतले बताए। उक्त सेवाले भ्रमण वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ छ। अन्तरप्रदेश उडान शुरु गर्नेबारे प्रदेश सरकारको लामो समयदेखिको आग्रह अनुसार भ्रमण वर्षलाई लक्षित गर्दै सेवा शुरु गर्न लागेको उनले बताए।

अन्तरप्रदेश उडान अन्तर्गत बुद्धले अहिले पोखराबाट भैरहवा र चितवनमा उडान गर्दै आएको छ।

प्रादेशिक उडानबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने समेत बताए।

विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस