कला/साहित्य सोमबार, मंसिर ९, २०७६

माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म बन्ने

हिमालखबर

हलिउडमा पछिल्ला वर्षहरुमा म्युजिकल बायोपिक बनाउने लहर नै चलेको छ। गत वर्षको फिल्म 'बोहेमियन र्‍यापसोडी' संगीतमै आधारित थियो।

यसै क्रममा 'किङ अफ पप' मानिने माइकल ज्याक्सनको बायोपिक निर्माण हुने भएको छ। ज्याक्सनको जीवनीमा आधारित फिल्म निर्माणको अधिकार बोहेमियन र्‍यापसोडीकै निर्माता ग्राहम किङले पाएका छन्।

यस्तै, फिल्मको स्क्रिप्ट 'ग्लाडिएटर' (सन् २०००) फिल्मबाट ओस्कर अवार्डको मनोनयनमा परेका लेखक जोन लोगानले लेख्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।  निर्माता किङ र लेखक लोगानले सन् २००४ मा बनेको फिल्म 'द एभिएटर' मा सहकार्य गरिसकेका छन्।

स्टारडमको उँचाइ देख्न पाएका ज्याक्सनको जीवन जति रंगीन देखिन्थ्यो, वास्तवितामा भने निकै अँध्यारो रहेको उनी स्वयंले बताउने गरेका थिए। उनको सन् २००९ मा रहस्यमय रुपमा निधन भएको थियो।

यो बायोपिक फिल्ममा ज्याक्सनले बाल कलाकारको रुपमा करिअर शुरु गरेकोदेखि विश्वव्यापी रुपमा कमाएको प्रसिद्धिसम्मको विषय समेटिने र उनका विवादका अनेक पाटो समेत आउने बताइएको छ। उनीमाथि यौन शोषणको गम्भीर आरोप समेत लागेको थियो।

यस वर्ष 'लिभिङ नेभरल्यान्ड' नामक वृत्तचित्र सार्वजनिक भएपछि समाचारका शीर्षकबाट ज्याक्सन विरलै बाहिर छन्। उक्त वृत्तचित्रमा वेड रोब्सन र जेम्स सेफचकले आफूहरु सानो छँदा ज्याक्सनले यौन शोषण गरेको आरोप लगाएका थिए। - एजेन्सी

प्रतिकृया दिनुहोस