‘हु आर अनटचेबल्स् एन्ड ह्वाई दे आर ?’ को नेपाली अनुवाद सार्वजनिक
भारतीय दलित अभियन्ता डा. बाबा साहेब बी.आर. अम्बेडकरले अंग्रेजी भाषामा लेखेको ‘हु आर अनटचेबल्स् एन्ड ह्वाई दे आर ?’ नामक पुस्तककाे नेपाली अनुवाद ‘अछूत को र कसरी ?’ सार्वजनिक गरिएकाे छ ।
दलित अभियन्ता कमला हेम्चुरीले नेपाली भाषामा अनुवाद गरेको उक्त पुस्तक ‘अछूत को र कसरी ?’ शुक्रबार सार्वजनिक गरिएकोे हाे ।
‘हु आर अनटचेबल्स् एन्ड ह्वाई दे आर ?’ अभियन्ता कमला हेम्चुरीको दोस्रो अनुवादित पुस्तक हो ।
‘बाबा साहेब अम्बेडकरको ‘अन्निहिलेसन अफ कास्ट’ को अनुवादित पुस्तक ‘जातको विनाश’ पछि यो उनको दोस्रो अनुवादित पुस्तक हो ।
नेपालका बुद्ध अम्बेडकर जागरण मिसनद्वारा प्रकाशित उक्त पुस्तक बजारमा उपलब्ध छ ।
पुस्तक सार्वजनिकपछि हेम्चुरीले उक्त पुस्तक नेपाली समाजका लागि आवश्यक रहेको बताइन् ।
“बाबा अम्बेडकरका हरेक पुस्तक सीमान्तकृत समुदायले पढ्नै पर्ने भएपनि नेपालमा उहाँका पुस्तकका विषयमा बहस नै भएको छैन,” उनी भन्छिन्,
“अम्बेडकरका पुस्तकहरू हरेकको हातमा सहजै, सुपथ मूल्यमा पुगोस् भन्ने मनसायले यो पुस्तक अनुवाद गरेकी हुँ ।”
करीब आठ महीना लगाएर अनुवाद गरिएको उक्त पुस्तकमा अछूत को हुन् ? कसरी बनाइए भन्ने विषय केन्द्रित रहेको उनी बताउँछिन् ।
अम्बेडकरद्वारा लेखिएका पुस्तक नेपालीमा निकै कम अनुवाद भएको भन्दै उनी भन्छिन्, “अछूत को र कसरी ? पुस्तकमा ६ वटा खण्ड र १६ वटा अध्याय रहेका छन् ।” अछूत को र कसरी ? ले सीमान्तकृत समुदायको आन्दोलनलाई दिशा निर्देश गर्ने भएकाले अध्ययन गर्नुपर्ने उनी बताउँछिन् ।
अम्बेडकरका पुस्तकको महत्व बुझाउन र भएको शक्तिको सही ठाउँमा सदुपयोग गरी सबैलाई आत्मसम्मान सहित समानता दिने सन्देश उक्त पुस्तकमा रहेको उनले बताइन् ।
मार्टिन चौतारीमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा बुद्ध अम्बेडकर जागरण मिसनका संयोजक चन्देश्वर दास, अभियन्ता धनकुमारी सुनार, लेखक उज्वल प्रसाईं, जितु दर्जी, वामदेव चाम्लिङ लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए । पुस्तकको मूल्य एक सय पचास रुँपैयाँ रहेको छ ।