भीर माहुरीको मह काढ्न अनुमति लिनुपर्ने
खाेटाङकाे केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ ।
लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।
गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।
“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ” उनले भने, “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”