संशोधन विधेयकको समर्थन गर्न सकिँदैनः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका छन् ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले विधेयकका केही दफा राष्ट्रहित विपरीत रहेको, प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको तथा मधेशी दल असन्तुष्ट रहेको अवस्थामा विधेयकलाई जस्तकोतस्तै पारित गराउन नसकिने बताए।
सरकारले विधेयकलाई थाती राखेर सहमतिका लागि अग्रसर हुनुपर्नेमा थापाले जोड दिए । संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान गर्नेभन्दा पनि देश मुठभेडतर्फ जाने सम्भावना देखिएको उनको भनाइ थियो ।
भोलि आइतबार महेन्द्रनगरमा हुने राप्रपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्न अध्यक्ष थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, आपूर्ति मन्त्री एवम् राप्रपाका नेता दीपक बोहरालगायतका नेता आज कैलाली आइपुगेका हुन् ।
रासस