अन्तर्वार्ता/विचार शुक्रबार, मंसिर ६, २०७६

महिला सवालमा पुरुषले काम गर्दा झन् राम्रो सन्देश जान्छः महिलामन्त्री पार्वत गुरुङ

लक्ष्मी बस्नेत

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् । महिला मन्त्रालयमा पुरुष मन्त्रीको वहालीसँगै आलोचना पनि शुरु भएको छ । यो आलोचना, दायित्व र कर्तव्यबारे के भन्छन् त नवनियुक्त मन्त्री गुरुङ ?

काम शुरु गर्नुभयो ?

काम शुरु त भयो तर बिहीबार र शुक्रबार अलि बढी भेटघाटमा समय बित्यो । मन्त्रालयबाट भइरहेको कामको अवस्थाबारे सामान्य बुझ्ने काम पनि गरें । शुक्रबार नै समाज कल्याण परिषदको अध्यक्षको रुपमा पदबहाली गर्दै पहिलो बैठक बसियो । यो ठूलो र धेरै काम गर्ने अर्को संस्था हो त्यसको पनि सरसर्ती अवस्था बुझें । कतिपय विवादित विषयहरु छन्, त्यसलाई हल गर्ने ।

परिषदको अहिलेको जुन स्रोत साधन छ त्यसको उपयोग गर्दै एउटा मास्टर बनाएर जानुपर्छ । समग्रमा महिला, बालबालिका, अपांगता र जेष्ठ नागरिकका लागि मन्त्रालयले गर्नुपर्ने कुराहरु बुझ्छु, कतिपय विकृति विसंगति छन् भने हटाउने र मन्त्रालयको अहिलेको जुन अवस्था छ । 

सोमबारदेखि लैंगिक हिंसारिुद्धको १६ दिने अभियान पनि शुरु हुँदैछ, महिलामाथि हुने हिंसा बढ्दो क्रममा भएको सरकारी तथ्यांकले नै देखाउँछ । यस्ता महिला हिंसाविरुद्ध तपाईको प्रभावकारी पहल के हुनसक्छ ?

 १६ दिने अभियान एउटा कार्यक्रम हो, यो तय भइसकेको पनि छ, ती कार्यक्रमहरु हुन्छन् । तर यस्ता अभियान, कार्यक्रमहरुलाई पनि अब अलि फरक तरिकाले मनाउनुपर्छ । जम्मा भएर चिया खाने मात्रै भन्दा पनि हिंसा गर्नुहुँदैन भन्ने सबैलाई सानैदेखि बुझाउनु सबैभन्दा जरुरी छ, प्रत्येक व्यक्तिले कसैलाई पनि हिंसा गर्नुहुँदैन भन्ने जान्यो भने मात्रै यो न्युनीकरण हुने हो ।

आआफ्नो ठाउँमा हुने हिंसा कस्तो प्रकृतिको छ र त्यसविरुद्ध के गर्ने भन्ने कार्ययोजना, रणनीति अब हरेक पालिकाहरुले बनाएर आफ्नो पालिकाहरुलाई महिला हिंसामुक्त बनाउने संकल्प गर्नुपर्छ । हरेक जातिजाति, समुदाय वा क्षेत्रमा भएका कुरीति हटाउनुपर्छ । अहिले त अधिकांश महिलाहरुकै नेतृत्वमा न्यायिक समिति छ । न्यायिक समिति, सम्बन्धित पालिका र प्रदेशहरुसँग पनि मन्त्रालयले समन्वय र सहकार्य गर्दै जान्छ।

त्यस्तै बालबालिकाको कुरा गर्दा कयौं बालगृहहरुले राम्रो काम गरिरहेका छन्, त्यसलाई प्रोत्साहन गर्दै नराम्रो गर्नेलाई कारबाही गर्नुपर्छ । अपांगता र ज्येष्ठ नागरिकको पक्षमा पनि काम के के गर्नुपर्छ सम्बन्धित सरोकारवालाहरुसँग पनि छलफल गरेर मन्त्रालयले गरिरहेको कामहरु बुझेर अघि बढ्छु ।  करिब ८० प्रतिशत जनसंख्याका लागि यस मन्त्रालयले गर्नुपर्ने काम गर्न दृढ छु ।

यति धेरै काम हुन्छ, तर यो मन्त्रालयमा बजेट कम हुन्छ भनेर विगतमा जिम्मेवारी लिने हरेक मन्त्रीहरुको गुनासो हुन्थ्यो नि ?

बजेट के कति छ र कुन कार्यक्रममा कति खर्च भएको छ भनेर मैले बुझ्न बाँकी छ । आइतबार सबै विभागका सबै कर्मचारीसँगै बसेर बुझ्दैछु तर काम हुने बजेटले मात्रै हो भन्नेमा म विश्वास गर्दिन । काम गर्दै जाँदा स्रोत आफैं आउँदै पनि गर्छ ।

अर्को कुरा, अब त मन्त्रालयको बजेटको मात्रैको कुरा भएन । हरेक स्थानीय तहमा सरकार छ र उनीहरुले पनि त बजेट छुट्याउँछन् । सबैलाई मन्त्रालयले बजेट दिनुपर्ने होइन तर यो मन्त्रालय कुन अवस्थामा छ बुझेर प्रभावकारी बनाएर लैजान्छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

महिला मन्त्रालयमा पुरुष मन्त्री भन्ने चर्चा पनि भयो नि ?

 एउटा सचेत व्यक्तिले त्यसरी नसोच्नु पर्ने हो । कतिपयले सोचे भने मेरो आग्रह छ, महिला सवालमा पुरुषले काम गर्नै नहुने भन्ने हो ? मलाई त लाग्छ महिला हिंसाविरुद्ध त पुरुषले काम गर्दा प्रभावकारी हुन्छ । मन्त्रीपरिषदमा महिलाको संख्या कम भयो भन्ने एउटा कुरा होला, तर महिला मन्त्रालयमा पुरुष भन्नु चाहिं गलत हो ।

त्यसो भए महिला सवालमा महिला, पुरुषको कुरा पुरुषले, बालबालिकाको कुरा बालबालिकाले मात्रै गर्ने भनेर त हुँदैन नि । अझ म त भन्छु, महिला सवालमा पुरुषले काम गर्दा राम्रो सन्देश जान्छ ।

कतिपय काम गर्न पुरुष भएकै कारण अप्ठ्यारो पर्ला कि जस्तो लागेको छ कि छैन ?

छैन र लाग्नु पनि हुँदैन । किनभने महिलाको मुद्दा भनेको घर, समाज र राजनीतिक मुद्दा हो, सबैको जिम्मेवारी हो । त्यसैले मलाई अप्ठ्यारो त होइन बरु ठूलो अवसर हो भन्ने चाहिं लागेको छ ।

यो मन्त्रालय जुन अवस्थामा त्यो भन्दा प्रभावकारी बनाएर देखाउँछु भन्ने विश्वास पनि दिलाउन चाहन्छु । व्यक्तिगत रुपमा पनि यो मन्त्रालय पाएकोमा बढी खुशी छु । अझ व्यापक काम गर्न पाएको ठूलो अवसरको रुपमा लिएको छु ।

प्रतिकृया दिनुहोस