म्यानपावर व्यवसायीद्वारा विभागकाे एकतर्फी निर्णय मान्य नहुने चेतावनी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागलाई एकतर्फी रूपमा गरिने निर्णय मान्य नहुने चेतावनी दिएका छन् ।
संघले विभाग लगायत निकायबाट एकतर्फी रूपमा गरिएका निर्णयले सकारात्मक परिणाम नदिने चेतावनी दिएको हो ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आगामी दिनमा इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरू लागू गर्दा संघसँग सहकार्य गरी निर्णय लागू गर्न गराउन विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।”
संघले व्यवसायीको हित हुने गरी गरिने निर्णयले मात्र सकारात्मक परिणाम दिने जनाएको छ ।
“संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, संवाद, सहकार्य र छलफल नगरी एकतर्फी रूपमा एकपछि अर्को निर्णय गर्ने, कागजात माग गर्ने र नयाँ–नयाँ प्रावधानहरू लागू गर्ने जस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको देखिन्छ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री केपी ओलीले ४ मंसीरमा गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाटहटाएको दुई दिनपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई चेतावनीको भाषा प्रयोग गर्दै विज्ञप्ति जारी गरेको हो ।
यता विभागका महानिर्देशक भीष्मकुमार भुसालले हिमालखबरसँग कुरा गर्दै प्रचलित कानूनको कार्यान्वयन गर्ने क्रममा संघको सहमति नचाहिने बताएका छन् ।
“विभागले कानूनको परिधिभित्र रहेर नियम तथा कानून लागू गर्छ”, भुसाल भन्छन्, “तिनै कानून मानेर नै म्यानपावर व्यवसायीहरू दर्ता भएका हुन् ।”
उनी विभागले कानून कार्यान्वयन गर्ने क्रममा सरोकारवालालाई जानकारी मात्र दिन सक्ने तर कार्यान्वयन गर्ने क्रममा सबै विषयमा संघको सहमति लिन जरुरी नभएको बताउँछन् ।
विभागका महानिर्देशक भुसाल विभागले जारी गर्ने नीति, निर्देशन वा परिपत्रका बारेमा आफूहरू सचेत रहेको बताउँछन् ।
उनी भन्छन्, “यदि व्यवसायीहरूलाई कुनै पनि विषयमा द्विविधा भए संवादको माध्यमबाट अत्य गर्न सकिन्छ ।”
केही समयअघि विभागले ‘वैदेशिक रोजगार ऐन, २०६४’ लाई संशोधन गरेर म्यानपावर व्यवसायीहरूको धरौटी रकम ३० लाखबाट बढाएर दुईदेखि ६ करोडसम्म पुर्याएको थियो ।
विभागको उक्त निर्णय लगत्तै म्यानपावर व्यवसायीहरू आन्दोलनमा उत्रेका थिए ।