भारतः अखिलेश र रामगोपाल समाजवादी पार्टीमा फिर्ता
भारत, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र पार्टी नेता रामगोपाल यादवलाई पार्टीमा पुनः फिर्ता लिइएको छ ।
समाजवादी पार्टीका उत्तर प्रदेश अध्यक्ष शिवपाल सिंह यादवले दुवैलाई फिर्ता लिएको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार शिवपालसिंह यादवले आगामी विधानसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुको सूची पुनः प्रकाशन गरिने बताएका छन् ।
समाजवादी पार्टीको हालको झगडा विधानसभा निर्वाचनका लागि टिकट वितरणको क्रममा शुरु भएको थियो ।
१५ पुस साँझ पार्टी अध्यक्ष मुलायमसिंह यादवले अखिलेश र रामगोपाललाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।
अखिलेश यादवले आफ्ना बाबु एवम् पार्टी अध्यक्ष मुलायमसिंह यादवसँग सल्लाह नगरी उम्मेदवारहरुको सूची जारी गरेपछि यस्तो कार्वाही गरिएको थियो ।