आम माफी हुन्नः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका सवै घटनामा आम माफी नहुने बताएका छन् ।
राजधानीमा आयोजित अन्तर संवाद कार्यक्रममा अध्यक्ष दाहालले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाहरुमा माफी नहुने बताए ।
उनले भने, “गम्भीर अपराधलाई कार्बाहीमा लैजानुपर्छ । यसले मात्रै शान्ति प्रक्रियालाई परिपक्क ढंगले पूरा गर्न सक्छ ।”
‘क्षमा गर र बिर्स’ भन्ने व्यवस्था अन्तरिम व्यवस्था राख्न आफू नै तयार नभएको उनले बताए । आयोगहरु बनाएर गम्भीर घटनालाई माफी नदिने अडान लिएको दाहालले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारीलाई निरन्तरता नदिने दाहालको प्रतिबद्धता थियो । “साथीहरुको कुरा सुने पछि नयाँ नै आउनेमा म प्रतिबद्ध छु । सत्य निरुपणमा नयाँ नै आउनुहुन्छ”, दाहालले भने ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पनि नयाँ ल्याउनेबारे छलफल भएको दाहालले बताए । “तर, ६ महीनामा सबै काम टुंग्याउँछौं भनेका छन्”, दाहालले भने । सत्य निरुपणजस्तो काम गरेन भन्ने गुनासो बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा नरहेको दाहालले बताए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संक्रमणकालीन न्यायको काम टुंग्याउन दाहाल तात्नुपर्ने सुझाव दिएका थिए । जवाफमा दाहालले पहिलेको जस्तो अवस्था नरहेकाले यो विषयमा गम्भीर भएर लाग्ने बताए ।