रिपोर्ट शुक्रबार, मंसिर ६, २०७६

काठको बाकसमा कोरिया सपना

हिमालखबर

–कि मिन्डाे, साेल, दक्षिणकाेरिया

धेरै नेपाली युवाका लागि दक्षिणकोरियामा रोजगारी पाउनु एउटा सपना जस्तै हो किनभने यहाँको कमाइ नेपालको तुलनामा धेरै राम्रो हुन्छ । तर, यो सपनाको अँध्यारो पाटो पनि छ । सन् २००९ देखि २०१८ सम्म रोजगारीका लागि दक्षिणकोरिया आएका १४३ नेपालीको मृत्यु भयो, जसमध्ये ४३ जना (३१ प्रतिशत) को कारण आत्महत्या थियो । 

तस्वीरहरूः कि मिन्डो

गम्भीर हुनुपर्ने तथ्याङ्क चाहिं के हो भने, कुल मृत्युमा ३१ प्रतिशतको कारण आत्महत्या हुनु अन्य देशका कामदारको तुलनामा निकै बढी हो । सन् २०११ देखि अगस्ट २०१९ को बीचमा म्यानमारका ५१ जना कामदारले कोरियामा ज्यान गुमाए, जसमा चार जनाले मात्र आत्महत्या गरेको देखिन्छ।

भियतनामीको हकमा भने आत्महत्या दर शून्य नै देखिन्छ । सन् २०१७ देखि अगस्ट २०१९ सम्म मृत्यु हुने १४ भियतनामी श्रमिकमा कसैले पनि आत्महत्या गरेको पाइएन ।

मृत्यु हुनेमा धेरैजसो गैरव्यावसायिक रोजगारी भिसा (इ–नाइन) प्राप्त गरेकाहरू देखिन्छन् । उनीहरू कामदार अभावले पिल्सिरहेका कृषि फार्म र उद्योगमा काम गर्दथे । यस्ता पीडादायी मृत्यु हरेक वर्ष दोहोरिए पनि प्रवासी श्रमिक किन यस्तो कदम उठाउँछन् भन्नेमा दक्षिण कोरियाली सरकार अनभिज्ञ नै छ ।

योन्से विश्वविद्यालयका अनुसन्धानकर्ता सियो सियोनयङका अनुसार रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरिया आउने नेपाली कामदारहरूले उच्च शिक्षा हासिल गरेको देखिन्छ । उनी भन्छन्, “तर कोरिया आएपछि उनीहरूले जनशक्तिको वरियतामा आफूलाई तल्लो तहको श्रमिकका रूपमा पाउँछन् । यसले सिर्जना गर्ने तनाव सहन नसकेर अन्ततः उनीहरूले आत्महत्या गरेको हुन सक्छन् ।”

कोरियामा अहिले २४ लाख २० हजार प्रवासी श्रमिक छन् र यो आँकडा विगत दश वर्षमा लगभग दोब्बर भएको छ । स्थानीय फार्म र उद्योग प्रवासी श्रमिक विना सञ्चालन हुनै सक्दैनन् । “हाम्रो औद्योगिक र जनसंख्यागत वास्तविकता नियाल्ने हो भने प्रवासी श्रमिकप्रति गरिने भेदभाव र घृणा अनुचित छ”, सुकम्युङ महिला विश्वविद्यालयका प्राध्यापक हङ सङ सु भन्छन् ।

धेरै अपेक्षा, चरम निराशा

श्रम अधिकार समूह तथा स्वास्थ्य कार्यकर्ताहरू कोरियाको फार्म र उद्योगमा नेपाली कामदारको आत्महत्या दर किन यति उच्च छ भन्ने थाहा पाउन प्रयास गरिरहेका छन् ।

सोल शिनमुन पत्रिका, ग्रिन हस्पिटल तथा प्रवासी श्रमिकको ट्रेड युनियनले गत अगस्टमा नेपालका १४१ प्रवासी श्रमिकसँग गरेको स्थलगत अनुसन्धानले समस्याका प्रमुख चार कारण औंल्यायो । ती थिए– कोरियामा काम गर्ने अपेक्षा र वास्तविकताबीचको खाडल, कम्पनी परिवर्तन गर्न नपाउनु, परिवारको ठूलो अपेक्षा र नेपालमा बिग्रिएको सम्बन्ध ।

अनुसन्धानका उत्तरदाताहरूमध्ये २८ प्रतिशतले तनाव बढ्नुमा कोरियाप्रतिको अपेक्षा र गर्नुपर्ने कामको बीचमा खाडल भएको बताएका थिए ।

उदाहरणका लागि, तीन वर्षदेखि च्याउ फार्ममा काम गरिरहेका २८ वर्षीय सुरेन्द्रलाई लिन सकिन्छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण सुरेन्द्र भन्छन्, “म यहाँ आउनुअघि मासिक तीन लाख कमाइ हुन्छ भनेर उत्साहित थिएँ तर काम र वासस्थानबारे केही जानकारी थिएन । नेपालमा नबिसाई १२ घन्टा काम गरेको अनुभव पनि थिएन । काम पनि साह्रै झिँजोलाग्दो छ ।”

अनुसन्धानका अनुसार उत्तरदाताहरूमध्ये ४५.६ प्रतिशतले हप्ताको ५२ घन्टा भन्दा बढी र १९ प्रतिशतले हप्ताको ६० घन्टा काम गर्ने गरेको बताए । २६ प्रतिशतले मात्र हप्ताको पाँच दिन मात्र काम गर्ने बताए । “प्रवासी कामदारलाई यस्तो पीडादायक निर्णय गर्न बाध्य पार्ने कारण यति मात्र होइन, कारणहरूको चाङ नै छ” माईग्रेन्ट एक्ट समूहका सह–निर्देशक जियोङ यङ–सियोब भन्छन् ।

कम्पनीको निषेध

दक्षिणकोरियामा काम थालेको १६ महीनापछि २७ वर्षीय श्रेष्ठ थरका नेपाली श्रमिकले जून २०१७ मा कम्पनीको आवास गृहको छतबाट हाम्फाले । एक दिन राति, अर्का दिन दिउँसो काम गर्नुपरेकाले निद्रासँग अभ्यस्त हुन उनी संघर्ष गरिरहेका थिए ।

उनले ‘सुसाइड नोट’ मा लेखेका थिए– आफ्नो स्वास्थ्य समस्या र अनिद्राको उपचारका लागि डाक्टरलाई जचाउँदा पनि सन्चो भएन । अर्को काम खोज्न मन थियो, कम्पनीले अनुमति दिएन । निको हुन नेपाल जान्छु भन्दा पनि पाइएन ।”

सर्वेक्षणमा सहभागी ७१ प्रतिशतले नयाँ काम खोज्न प्रयास गरेको औंल्याएका थिए । तीमध्ये ३६ प्रतिशतले जोखिमपूर्ण अवस्थामा लामो समय काम गर्नुपरेको बताएका थिए ।

रोजगारी अनुमति प्रणालीअन्तर्गत दक्षिणकोरिया आएका कामदारलाई तीन वर्षमा बढीमा तीन पटक मात्र कार्यस्थल (रोजगारदाता कम्पनी) परिवर्तन गर्न अनुमति दिइन्छ । तर यसका लागि रोजगारदाताको अनुमति लिनुपर्ने हुन्छ ।

कोरियामा काम गर्ने वातावरण जतिसुकै कठिन र अव्यावहारिक भए पनि नेपाल फर्कने विकल्प धेरैसँग हुँदैन ।

कोरिया आइपुग्ने ठूलो चुनौती पार गरेपछि उनीहरूको काँध प्रियजनको अपेक्षाले थिचिएको हुन्छ । वैदेशिक रोजगार ट्रेड युनियनका प्रतिनिधि उदय राई भन्छन्, “यदि प्रवासी कामदार फर्किए भने, गाउँलेले त्यति राम्रो अवसर छोडेर आएको भनेर आलोचना गर्छन्, हुतिहारा भन्छन् । यस्तो धर्मसङ्कटमा परेका धेरै नेपाली कामदारले आत्महत्या गर्ने गरेका छन् ।”

बिग्रिएको सम्बन्ध

प्रियजनको मायाले गर्दा कठिन परिस्थिति झेलेर भए पनि कोरियामा काम गर्न नेपाली श्रमिक दृढ छन् तर जब उनीहरूसँगको सम्बन्ध बिग्रन्छ त्यसले भावनात्मक तनाव पैदा गर्छ । तेजबहादुर गुरुङ (२९) का दुई जना साथीहरूले यस्तै पारिवारिक वा सम्बन्धले सिर्जना गरेका समस्याका कारण आत्महत्या गरेका थिए ।

आफ्नो अनुभव सुनाउँदै खम गुरुङ (४५) सम्झन्छन्, “एकातिर कामको तनाव, अर्कोतिर पारिवारिक समस्या । फर्केर जाने अवस्था पनि नहुँदा धेरै तनाव सहनुपर्‍यो ।”

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका कपिल बी दाहाल कोरिया वा अरू देशमा कार्यरत नेपाली प्रवासी श्रमिकको आत्महत्याबारे व्यवस्थित अध्ययन हुनै नसकेको बताउँछन् । कोरियाको न्याय मन्त्रालयले देश अनुसार छुट्याएर मृतक प्रवासी श्रमिकको तथ्याङ्क राख्ने गरेको छ तर मृत्युको कारण भने लेखिएको देखिन्न ।

“खाडी र युरोपमा भएका नेपाली कामदारले पनि आत्महत्या गर्ने गरेका छन्, तर नेपाल सरकार तथा नेताहरू यस विषयमा केही गरिरहेका छैनन् । देशको अर्थतन्त्रको लागि नेपाली प्रवासी श्रमिकले ठूलो योगदान गरिरहेका छन् तर उनीहरूको स्वास्थ्य अवस्थाबारे बेवास्ता गरिरहेको देखिन्छ”, दाहाल भन्छन् ।

सोलस्थित नेपाली दूतावासले प्रवासी श्रमिकका लागि परामर्श सेवा पनि उपलब्ध गराएको छ तर वैदेशिक रोजगार ट्रेड युनियनका प्रतिनिधि उदय राई यसको प्रभावकारिता बारे प्रश्न गर्छन् ।

“कामदारको मृत्यु अनि आत्महत्याको कारण खोजी गर्न संस्थाहरू त्यति इच्छुक देखिंदैनन् । कोरियाली सरकारले नेपालीको कोटा घटाइदेला भन्ने डरले पनि सरकारी प्रतिनिधि चूपचाप बस्छन् र हतारहतार मृतकको लास नेपाल पठाउँछन् ।”

केदार तिमल्सिना (२८)

चार महीनाअघि काठमाडौं विमानस्थलको आवागमन कक्ष हुँदै एउटा काठको बाकस आइपुग्यो । बाकसभित्र केदार तिमल्सिना (२८)को शव थियो। उनले २० जुलाईका दिन बुसानस्थित आफू कार्यरत सि–फूड प्रोसेसिङ उद्योगको स्टोर रुममा झुन्डिएर आत्महत्या गरेका थिए ।

“केदारले आत्महत्या गर्नुको कारण यो कागजले केही बताउँदैन”, काठमाडौं विमानस्थलमा रहेका उनका आफन्तले दक्षिण कोरियाली प्रहरीबाट प्राप्त मृत्यु दर्ता प्रमाणपत्र हेर्दै भने ।

केदारको आत्महत्याको कुरा सुन्दा उनकी श्रीमती बन्दनाले पहिलो सन्तान जन्माएको २५ दिन मात्र भएको थियो । बन्दनाका भाइ भन्छन्, “छोरो जन्मिएको खुशियाली मनाउन केदारले कोरियामा ठूलै पार्टी दिएको सुनेको थिएँ, यस्तो मान्छेले किन आत्महत्या गर्थे ?”

नेपाल सरकार र कोरियाली अधिकारीको मौनता र उदासीनताले शोकमा रहेको परिवारलाई अझ निराश बनाउँछ । कोरियामा रहेको नेपाली दूतावास कामदारको शव काठको बाकसमा हालेर काठमाडौं पठाइदिएपछि जिम्मेवारी सकिएको ठान्छ । दक्षिण कोरियाली प्रहरीले उद्योगमा रहेको क्यामराको फुटेजको कहिल्यै अनुसन्धान गर्दैन, न त अन्य प्रमाण नै । केदारको पनि यस्तै भएको थियो ।

केदारका सहकर्मीले दक्षिण कोरियाली प्रहरीलाई बताए अनुसार, केदारले नेपालमा हालसालै जग्गा किनेका थिए, त्यसमा उनी ठगिए । केदारको परिवारका अनुसार त्यो साँचो होइन किनभने उनले दुई वर्षअघि किनेको जग्गाको भाउ लगभग दोब्बर भएको थियो ।

केदारका कुनै पनि निजी सामान उनका परिवारलाई फिर्ता गरिएन । तर, कोरियन प्रहरीका अनुसार उनका सामान परिवारले लिन नचाहेको जानकारी नेपाली दूतावासले दियो । केदारको परिवारका अनुसार दूतावासले कहिल्यै उनीहरूलाई सम्पर्क गरेन न त सामानबारे सोधखोज नै गर्‍यो ।

“हाम्रो जिम्मेवारी शव पहिचान र मृत्युदर्ता पुष्टि गरेर नेपाल पठाउने हो । दूतावासले अरू सामान तबसम्म पठाउँदैन जबसम्म ती महत्वपूर्ण छन् भन्ने लाग्दैन”, सोलस्थित नेपाली दूतावासका प्रतिनिधिको जवाफ थियो । 

पशुपति आर्यघाटमा श्रीमान् केदारको अनुहार अन्तिम पटक स्पर्श गर्दा बन्दना रोइरहेकी थिइन् । “हाम्रो छोरा कसरी एक्लै हुर्काउँ ?” निष्प्राण श्रीमानलाई उनी सोधिरहेकी थिइन् । केदारको शव आगोले गलाउन चार घन्टा लाग्यो, र सँगै गल्यो उनको ‘कोरियाली सपना’ ।

बलबहादुर गुरुङ (३२)

“उहाँ बच्चालाई धेरै माया गर्नुहुन्थ्यो । उनीहरूलाई देख्ने बित्तिकै हरेक पटक म श्रीमान् सम्झन्छु”, २८ वर्षीया मैया गुरुङले आँसु पुछ्दै भनिन् ।

मैयाका श्रीमान् बलबहादुरले १२ जूनमा सोलको वोलेउङ पुलबाट हाम्फाले, तल गुडिरहेको गाडीमा ठोक्किएर तत्कालै उनको मृत्यु भयो । सीसीटीभी फुटेजमा देखिए अनुसार बलबहादुर पुलतर्फ डराउँदै र हच्किंदै निकै चोटि ओहोरदोहोर गरिरहेका थिए । दुई दिनअघि मात्र उनी ‘अनरजिष्टर्ड’ कामदार भएका थिए र उनलाई कोरियाबाट नेपाल पठाइने भय थियो ।

बलबहादुर सक्कल श्रम भिसामा अक्टोबर २०१७ मा दक्षिणकोरिया पुगेका थिए । मार्च २०१९ मा उनले काम गरिरहेको कम्पनी छोडे र अर्को काम खोज्न श्रम मन्त्रालयमा नाम दर्ता गरे । तीन महीनाभित्र काम पाउन नसकेमा श्रमिकले सो देशमा बस्ने अधिकार स्वतः गुमाउन पुग्छन् ।

बलबहादुरले नेपाल गएर केही समय परिवारसँग बिताए र कोरिया फर्के । तर, तीन महीनाको समय सीमामा उनले अर्को काम भेटेनन् । 

आफ्नो मृत श्रीमान्को सामान लिन मैया स्वयं दक्षिणकोरिया आइन् । आफ्नो कान्छो छोराको दुखद मृत्यु सहन नसकेर बलबहादुरका पिता, पूर्व सैनिक स्मरण शक्ति गुम्ने रोग एम्नेसियाबाट पीडित भएका छन् ।

“बाबा मर्नु भएको हो ?” सात वर्षीया छोरी सोध्छिन् । तर, मैया सत्य बताउन सक्तिनन् र भन्छिन्, “तिम्रो बाबा विदेशमा काम गर्न जानुभएको छ।”

“वास्तवमा मलाई पनि मरिहाल्न मन छ तर यी अबोध बच्चा देखेपछि म त्यसो गर्न सक्दिनँ”, आँशु पुछ्दै मैया भन्छिन् ।

धनराज घले (४०)

“म निर्दोष छु । मेरो गल्ती छैन । कम्पनीले छल गरेको हो । म सनकी होइन ... कम्पनीले मेरो हस्ताक्षर लिएको थियो । कृपया अनुसन्धान गर्नुस् ।” यो सन् २०११ मा फुटन उद्योग डागेउ शहरमा काम गर्दा आत्महत्या गर्नुअघि धनराज घलेले छोडेर गएको हस्तलिखित चिठी हो । धनराजले नेपाल जाने प्लेन टिकट पनि बूक गरिसकेका थिए ।

आठ वर्षअघिको यो चिट्ठीबारे यो पत्रकारलाई तीन महीनाअघि मात्र धनकी श्रीमती मनमाया (४८) र धनको भाइ भीमराज घले (३६) ले सुनाएका हुन्।

भीमका अनुसार उनका दाइ मिहिनेती थिए जो संसारमा सबैभन्दा बढी परिवारलाई माया गर्दथे । “चिठीहरू देखेपछि मलाई लाग्यो कि दाइ काम गर्ने ठाउँमा हेपिएको हुनुपर्छ”, भीम सम्झिन्छन् ।

धनराजले नेपालीमा लेखिएको एउटा सानो चिठी पनि छोडेका थिए, “मैले केही गलत गरेको छैन । मेरो एकचोटि मङ्गोलियाली कामदारसँग झगडा परेको थियो । मलाई थाहा छैन त्यो मङ्गोलियन मान्छेले कोरियन मान्छेहरूलाई के भन्यो...”

उनले दुई पटक कम्पनीको म्यानेजरलाई पनि चिठी लेखेका छन्, “तपाईं अहिले मसँग बोल्नुहुन्न । मैले केही पनि बुझेको छैन । कृपया मलाई कारण बताउनुस् ।” 

कम्पनीले भने उनलाई हेपिएको कुरा अस्वीकार गरेको छ र धनलाई कुनै पनि कागजमा सही गर्न सोधिएको थिएन ।

धनलाई कोरियामा एक दिन दिउँसो र अर्को दिन रातिको सिफ्टमा काम गर्न ग्राह्रो भएको हुनुपर्छ, मृत्यु हुनुभन्दा दुई महीना अघिसम्म उनले रातिको सिफ्ट काम गरिरहेका थिए । “उहाँले रातिको सिफ्टमा काम गर्दा निद्रा नलाग्ने गरेको बताउनुभएको थियो” माया सम्झिन्छिन् ।

धनको छोरी र छोरा बुवाको मृत्युको वेला १० र ५ वर्षका थिए । अहिले उनीहरू कलेज र स्कूलमा छन् । “मेरो बुवालाई दुर्व्यवहार गर्नेहरूलाई म कहिल्यै माफ गर्ने छैन”, धनको छोरा भन्छन् । र, दिदी–भाइले कसम पनि खाएका छन्– जस्तोसुकै विघ्न–बाधा आइपरे पनि काम गर्न उनीहरू विदेश कहिल्यै जाने छैनन् ।

“मेरो श्रीमान् नराम्रो मान्छेको फेला पर्नुभयो । मलाई बस् ती खराब मान्छे चाहिं दण्डित भए हुन्थ्यो जस्तो लाग्छ”, मायाको कामना छ ।

(केही पीडितको नाम परिवर्तन गरिएको छ ।)

 

प्रतिकृया दिनुहोस