नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिदै
मन्त्रिपरिषद पुनर्गठन पछि नियुक्त नयाँ मन्त्रीहरुलाई सरकारको कामकार्बाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिने कार्यक्रम राखेका छन् ।
साँझ ५ः३० बजे बालुवाटारमा नवनियुक्त मन्त्रीहरुलाई निर्शेशनको कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । नव नियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।
सरकार गठन भएको २१ महीना पछि ९ मन्त्री हेरफेर गरिएका छन् । हृदयेश त्रिपाठी, घनश्याम भूसाल, रामेश्वर राय यादव, लेखराज भट्ट, बसन्त नेम्वाङ र पार्वत गुरुङले नयाँ मन्त्री बनेका छन् ।
त्रिपाठीलाई सामान्य प्रशासन, भूसाल कृषि, यादव श्रम, भट्ट उद्योग, नेम्वाङ भौतिक पूर्वाधार र गुरुङ महिला मन्त्री नियुक्त भएका छन् ।
यस्तै उद्योग राज्य मन्त्री मोतीलाल दुगड, स्वास्थ्य राज्य मन्त्री नवराज राउत र शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर बनेका छन् ।
मंगलबार आठ मन्त्री बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरिएको हो । मन्त्रीहरु लालबाबु पण्डित, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, मातृका यादव, रघुबीर महासेठ र थममाया थापालाई बर्खास्त गरिएको छ भने राज्यमन्त्री धनबहादुर बुढा र रामकुमारी चौधरी समेत हटाइएका छन् ।