रेमिटेन्स ५ प्रतिशतले घट्यो, तरकारीको मूल्य १७ प्रतिशतले बढ्यो
अर्थतन्त्रको मुख्य खम्बा मध्ये एक मानिएको रेमिटेन्सको आय ओरालो लागेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (असोजसम्म) मा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स रकम ४ दशमलव ९ प्रतिशतले घटेको नेपाल राष्ट्र ब्यांकले जनाएको छ ।
यो अवधिमा रु. २ खर्ब ३० अर्ब २४ करोड मात्र रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स ३७ दशमलव ३ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै रेमिटेन्स आय पनि घटेको अनुमान गरिएको छ । यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ दशमलव ७ प्रतिशतले घटेको छ ।
असोजसम्ममा देशको चालु खाता घाटा रु. २७ अर्ब १८ करोड रहेको छ । गत वर्षको यही अवधिमा यस्तो घाटा रु. ८१ अर्ब ७४ करोड थियो । निर्यातमा सामान्य वृद्धि र आयातको वृद्धिदर घटेकाले चालु खाता घाटाको रकम थोरै भएको हो ।
असोजसम्ममा निर्यात १४ दशमलव ४ प्रतिशतले बढेर रु. २७ अर्ब १७ करोड पुगेको छ भने आयात १० दशमलव ३ प्रतिशतले घटेर रु. ३ खर्ब ३५ अर्ब छ ।
राष्ट्र ब्यांकका अनुसार, असोजमा मूल्यवृद्धिदर ६ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धिदर ४ दशमलव ६८ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्य सबैभन्दा धेरै ७ दशमलव ०४ प्रतिशतले बढेको छ भने गैर खाद्य तथा सेवा समूहको मूल्य ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतको तरकारीको मूल्य सबैभन्दा धेरै १६ दशमलव ८३ प्रतिशतले बढेको छ । त्यस्तै फलफूलको मूल्य ११ दशमलव ५७ प्रतिशतले बढेको छ ।