व्यवसायी दुगड प्रधानमन्त्री निकट हुँदा पार्टी प्रवेश गरेको पाँच वर्षमै मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरको साँझ् मन्त्रीपरिषद् पुनर्गठन गर्दा मोतीलाल दुगडलाई उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी तोके ।
मारवाडी समुदायका व्यवसायी दुगडले अन्य कयौं आकांक्षीहरुलाई पछाडि पारेर राज्यमन्त्री पद पाउनु पछाडिको मुख्य कारण हो–प्रधानमन्त्री ओलीसँग उनको निकटता ।
विराटनगरका व्यापारी दुगडको सेन्चुरी मसलाले व्यवसायिक ख्याति कमाएको छ । उनले विराटनगरमा करिब रु. ४० करोड भन्दा बढी लगानीमा चारतारे स्तरको होटल ह्यारिसन प्यालेस होटल पनि सञ्चालन गरिरहेका छन् । यो त्यही होटल हो, जसको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका थिए ।
प्रधानमन्त्री ओली विराटनगर क्षेत्र जाँदा यही होटलमा बस्ने गरेको बताइन्छ ।
दुगड नेकपाको राजनीतिमा संघर्ष गरेर आएका नेता होइनन् । २०६४ सालको संविधानसभाको निर्वाचनमा सरिता गिरीले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेका थिए ।
तर, नेता सरिता गिरीसँग कुरा नमिलेपछि २०७० को निर्वाचनमा आइपुग्दासम्म उनले नव नेपाल निर्माण पार्टी स्थापना गरेर चुनावमा होमिएका थिए ।
तर, पार्टीले जम्मा १५ हजारजति मात्र मत पाएको थियो । पार्टीले निर्वाचनमा सफलता नपाएपछि दुगडले २०७१ सालमा पार्टी नै तत्कालीन नेकपा एमालेमा विलय गराएका थिए ।
तत्कालीन एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय बल्खुमा एक कार्यक्रमको आयोजना गरेर दुगडसहितका व्यवसायीलाई पार्टी प्रवेश गराएका थिए ।
त्यसयता सधैं प्रधानमन्त्री ओली निकट रहँदै आएका दुगडले एमालेका केन्द्रीय सल्लाहकार र २०७४ को निर्वाचनपछि मधेसी कोटामा समानुपातिक सांसद पद हत्याए । उनलाई पार्टीभित्र मुख्य चन्दादाता मध्ये एक मानिन्छ ।