डिसेम्बर ८ मा ‘मर्यादित महिनावारी’ दिवस मनाइने
नेपालमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर– १० डिसेम्बर) कै अवसर पारेर ८ डिसेम्बरमा यो दिवस मनाउन लागिएको हो ।
दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ राखिएको छ ।
महिनावारीका विषयमा सरसफाइको दृष्टिकोणबाट बहस छलफल भए पनि महिनावारीका कारण किशोरी/महिलामाथि गरिने विभेद, लाञ्छनाहरुको बारेमा अझै धेरै बोल्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन थालिएको मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले बताइन् ।
सरकारी निकायसँगको सहकार्यमै दिवस मनाउने तयारी गरिएको फाउन्डेसनले जनाएको छ ।
पौडेलले भनिन्, “मेन्स्ट्रुअल टक, डिग्निटी फर्स्ट" अर्थात महिनावारीलाई पहिले मर्यादित रुपमा हेर्नुपर्छ, डिसेम्बर महीनालाई विश्वभर नै मानवअधिकार महीनाको रुपमा मनाइन्छ त्यसैले महिनावारीलाई पनि मानवअधिकारसँग जोडेर कुरा गर्न लागिएको हो।”
मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता राधा पौडेलले महिलामा हुने महिनावारीलाई सामान्य कुरा हो भनेर बुझ्न सके मात्र महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुने बताएकी छिन् ।
उनी भन्छिन्, “उमेर बढ्दै जाँदा एउटा किशोर पुरुषमा दाह्रीजुँगा आउँदै गर्दा किशोरीहरु महिनावारी हुने हो तर यो अवस्थामा पुरुषले गर्व गर्ने किशोरीहरुमा विभेद शुरु हुनुपर्ने किन ?”
पौडेलले महिनावारीका कारण हुने विभेदलाई शान्ति, मानवअधिकार, दिगो विकाससँग जोडेर हेर्नुपर्ने र त्यसै अनुसारको बहस/छलफलको आवश्यकता रहेको बताइन् ।
सन् २०१४ देखि हरेक वर्षको २८ मेमा पनि ‘महिनावारी सरसफाइ’ दिवस मनाइन्छ । २८ मेले महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिकोणबाट मनाउँदै आएको छ ।
राधा पौडेल फाउन्डेसनको पहलमा पहिलो पटक मनाउन लागिएको यो दिवसका अवसरमा नेपालका विभिन्न जिल्लाका साथै विश्वका विभिन्न देशले पनि मनाउने फाउन्डेसनले जनाएको छ ।