उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेश निषेध
हुम्ला जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि १४ मंसीरमा हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्या्दित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
उपनिर्वाचनको मौन समय ११ मंसीर राति ७ बजेदेखि शुरु हुन्छ । मौन समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए ।
उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उनले जानकारी दिए ।
निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्ण रुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।