प्रधानमन्त्री र मोर्चाबीच संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा जाने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढाउने र मधेशी मोर्चाले निर्वाचनको वातावरण बनाउने सहमति भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार छलफलमा प्रधानमन्त्री दाहाल र मोर्चाका नेताले संविधान सशोधन, स्थानीय निकायको निर्वाचनका अतिरिक्त संसद्को गतिरोध अन्त्य गर्नेलगायत समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरेका थिए ।
मोर्चाले यथाशीघ्र संविधान सशोधन प्रस्ताव सदनमा टेबल गरेर पारित गर्ने प्रक्रियामा अघि बढाउन र त्यसपछि मात्रै निर्वाचनमा जानुपर्ने धारणा राखेको थियो ।
संशोधन प्रस्ताव पारित गरेपछि निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता समेत मोर्चाले जाहेर गरेको थियो ।
छलफलमा प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भूषाल तथा मधेशी मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, ह्रदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, महेन्द्र राय, राजकिशोर यादव, अनिलकुमार झालगायतका नेता सहभागी थिए ।
मधेशकेन्द्रित दलहरुले उठाएको मागलाई सम्बोधन गर्न भन्दै संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अस्वीकार गर्दै आएको छ ।
नेकपा एमालको निरन्तरको अवरोधका कारण एक महिनादेखि व्यवस्थापिका–संसद्को गतिरोध अन्त्य हुनसकेको छैन । सरकारले नागरिकता, प्रदेशको सीमाङ्कन, भाषा र राष्ट्रिय सभामा प्रादेशिक प्रतिनिधित्व जस्ता विषयमा संशोधन अघि बढाएको छ ।
प्रमुख प्रतिपक्षले भने उक्त प्रस्ताव नेपाल र नेपाली जनताको भावनाको विरुद्धमा रहेकोले कुनै पनि हालतमा त्यसमा आफूहरु सहमत हुन नसक्ने अडान राख्दै आएको छ । रासस