टुटल र पठाओले यात्रु बोके कारवाही गर्ने सरकारको चेतावनी
यातायात व्यवस्था विभागले निजी दर्ता सवारी साधनले भाडामा यात्रु बोकेर सार्वजनिक प्रयोग गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
निजी सवारीलाई भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओ लगायतको सेवा यो सूचना आएसँगै प्रभावित हुनेछ । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थालिने बताएको छ ।
यसअघि पनि विभागले यस्तै चेतावनी दिंदा प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही रोक्न निर्देशन दिएपछि विभाग पछि हटेको थियो ।
बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसार्न तुरुन्त बन्द गर्न भनेको हो।
सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।