बल्ल बन्ने भयो सिद्धबाबामा सुरुङमार्ग
–बिक्रम खड्का, बुटवल
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको प्रक्रिया अघि बढेको छ ।
लामो समयदेखि चर्चामा रहेको सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै वार्षिक बजेटमा १० अर्ब १५ करोडको सीमाभित्र रहेर खरीद प्रक्रिया अगाडि बढाउन भनेको छ ।
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बिल्ड मोडालिटीमा निर्माण गर्न भनिएको छ । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम प्रक्रिया पूरा गरी डीपीआर बमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गर्न समेत भनिएको छ।
बजेट प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरी सोही बमोजिम वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी उक्त बजेटको सीमाभित्र रही प्रचलित कानून बमोजिम बहुवर्षीय ठेक्काको माध्यमबाट निर्माणको खरीद प्रक्रिया अगाडि बढाउन सहमति दिएको अर्थमन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
अति नै जोखिमयुक्त यो सडकखण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् । यस क्षेत्रमा पहिरो तथा सडक दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् । यस सडकखण्डमा दैनिक सरदर २ हजार ५ सय गाडी चल्ने गर्दछन् ।
ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका स्थानीयहरू सुरुङ मार्ग बन्ने चर्चाले खुशी भएका छन् । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले सुरुङ मार्ग निर्माणको प्रक्रिया ढिलै भएपनि शुरु हुने कुराले खुशी तुल्याएको बताए ।
वार्षिक ५० भन्दा बढीको मृत्यु हुने यस सिद्धबाबा खण्डको झण्डै ३ किलोमिटर क्षेत्रमा सुरुङ निर्माण हुने छ । त्यसका लागि यसअघि नै भौगर्भिक अध्ययन भइसकेको छ ।
अब सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेण्डरमा जाने बाटो खुलेको यातायात मन्त्रालयले जनाएको छ । सुरुङ मार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका नेकपाका महासचिव एवं रुपन्देहीका सांसद विष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण शुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुशी व्यक्त गरे ।
त्यस्तै पाल्पाबाट निर्वाचित सांसद सोमप्रसाद पाण्डेले सिद्धबाबा सडकको सुरुङ निर्माणका लागि प्रक्रिया अघि बढेकाले यसको बाँकी काम अघि बढाउन निरन्तर पहल गर्ने बताए ।
सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरुङ सुरु हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करीब २० मिटर सीधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकस पार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ ।
चट्टानको चुचुरो र सडकको बीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ ।
डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार नेपालले डीपीआर तयार भएकाले अब मन्त्रालयको स्वकृतीसँगै टेण्डर आहवानको तयारी हुने बताए । उनले सरकारले पैसाका लागि स्वीकृत दिएकोले अब सुरुङ निर्माणको बाटो खुलेको दाबी पनि गरेका छन् ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् ।