समाचार मंगलबार, मंसिर ३, २०७६

अध्ययनका लागि अमेरिका रोज्नेमा नेपाल संसारकै १२ औं स्थानमा

हिमालखबर

इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स रिपोर्ट मङ्‌सिर २ गते सार्वजनिक गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, प्रतिवेदनले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्ख्या बलियो रहेको र विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको रोजाइमा अमेरिका अझै पनि परिरहेको जनाएको छ ।

प्रतिवेदन अनुसार, सन् २०१९ मा स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि अमेरिका जानेमा नेपाली १२ औं स्थानमा छन् । ती तहमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल सङ्ख्या १३ हजार २२९ छ ।

गत वर्षको तुलनामा नेपाली विद्यार्थीको कुल सङ्ख्यामा हल्का गिरावट आए तापनि स्नातक तहमा अध्ययन गर्ने र ऐच्छिक व्यावहारिक तालिम रोज्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । प्रतिवेदनका अनुसार शैक्षिक वर्ष सन् २०१८/१९ मा १० लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा भर्ना भएका छन्, जुन हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

“विदेशका विद्यार्थी अमेरिका पढ्न आउने र अमेरिकी विद्यार्थी पनि पढाइका लागि विदेश जाने क्रमको वृद्धिमा निरन्तरता देख्दा हामीलाई खुशी लागेको छ,” शैक्षिक तथा सांस्कृतिक मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री मेरी रोयसले भनिन्, “अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आदानप्रदान प्रवर्द्धन शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको उच्च प्राथमिकतामा रहेको छ । अमेरिकामा हासिल गरेको उच्चशिक्षाले अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनमा ठिक त्यसै गरी रूपान्तरण ल्याउन सक्छ जसरी विदेशमा अध्ययन गरेको अनुभवले अमेरिकी विद्यार्थीहरूको जीवनमा रूपान्तरण ल्याउँछ ।”

अन्तर्राष्ट्रिय शैक्षिक सप्‍ताहको अवसर पारेर समेत ओपन डोओर्स रिपोर्ट सार्वजनिक गरिएको हो । भावी पुस्ताका अगुवाहरूलाई अध्ययन, सिकाइ तथा अनुभव आदानप्रदानका लागि अमेरिकामा आकर्षित गर्ने गरी मङ्‌सिर २ देखि ६ गतेसम्म अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयको संयुक्त पहलमा सो साताव्यापी शैक्षिक कार्यक्रम तर्जुमा भएको हो ।

सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक साताको समर्थनमा यस हप्‍ता अमेरिकी दूतावासले आफ्ना साझेदार संस्था, नेपालस्थित अमेरिकी शैक्षिक प्रतिष्ठान, काठमाडौँ विश्‍वविद्यालय र अमेरिकन सेन्टरसँग सहकार्य गर्दै शृङ्लाबद्ध रूपमा कार्यक्रमहरू आयोजना गर्नेछ ।

यस्ता कार्यक्रमहरूमा “गेट इन्सपायर्ड” (प्रेरिरत होऔँ) विषयक क्रियाकलाप, उच्चशिक्षा प्रशासक कार्यशाला गोष्ठी, अमेरिकी विश्‍वविद्यालयबाट अध्ययन पुरा गरी फर्किएका नेपाली पूर्वविद्यार्थीको प्रस्तुति, अध्ययन भिसासम्बन्धी प्रस्तुति, वेबिनार र अनलाइन कलेज फेयर लगायत हुनेछन् । नेपाली विद्यार्थीका लागि अमेरिकी उच्चशिक्षा र आदानप्रदानका अवसरलाई प्रवर्द्धन गर्ने साताव्यापी क्रियाकलापहरूको समापन शैक्षिक मेलाबाट गरिनेछ ।

 

प्रतिकृया दिनुहोस