सन्दीप र पारसबाहेक टी–१० लिगको मैदानभित्र प्रवेश पाउने तेस्रो नेपाली को हुन् ?
भर्खरै सकिएको टी–१० लिगको कर्नाटक टस्कर्स र डेक्कन ग्लाडियटर्सबीचको खेलमा सन्दीप लामिछानेसँगै अर्का एक नेपाली पनि मैदान थिए भन्ने सुन्दा कतिपयलाई आश्चर्य लाग्नसक्छ ।
पारस खड्का ? तर, उनी त टिम अबु धाबीका सदस्य हुन् । पारस र सन्दीपको टोलीको त खेल हुनै बाँकी छ ।
आखिर को त ? यी दुई बाहेक तेस्रो नेपाली खेलाडी त टी–१० मा छानिएकै छैनन् ।
सही, उनी खेलाडी होइनन् । यी नेपाली सन्दीप र पारस वाहेक मैदानभित्र प्रवेश पाउने तेस्रा नेपाली हुन् ।
उनी हुन्, अम्पायर बुद्धि प्रधान ।
नेपालका बुद्धि प्रधान र बेलायतका बिली टेलरले कर्नाटक टस्कर्स र डेक्कन ग्लाडियटर्सबीचको टी–१० लिगको १० औं खेल खेलाएका थिए ।
जतिबेला कर्नाटकका सन्दीपले आफ्नो दोस्रो ओभरमा केइरन पोलार्डको ब्याटबाट लगातार चार छक्का, एक चौकासहित ३० रन खाएका थिए, बुद्धि प्रधान नजिकैबाट नियालिरहेका थिए ।
खेलमा सन्दीपको टोली ५ विकेटले पराजित भएको थियो । पोलार्डको २२ बलमा ४५ रनको विस्फोटक स्कोरले ९ बल छँदैं डेक्कनले कर्नाटकको १११ रनको लक्ष्य पूरा गरेको थियो ।
अबु धाबीको शेख जायद स्टेडियममा भइरहेको टी–१० लिगको यो सिरिजमा बुद्धि प्रधानले पहिलोपटक अम्पायरिङ गरिरहेका छन् ।
थप, प्रधानले अहिले जारी टिम अबु धाबी र मरठा अरेबियन्सको खेलमा पनि अम्पायरिङ गरिरहेका छन् ।
आइसीसीमान्यताप्राप्त विराटनगरका ४५ वर्षीय प्रधान नेपालका सर्वाधिक सफल अम्पायर हुन् । उनले यसअघि आइसीसीको एकदिवसीय, टि–२०का साथैं यू–१९ विश्वकप, टि–२० वल्र्डकप छनोटलगायतमा अम्पायरिङ गरिसकेका छन् ।