अन्तर्वार्ता/विचार सोमबार, मंसिर २, २०७६

‘चीन र भारतबाट प्रविधि होइन लगानी भित्र्याऔं’

हिमालखबर

सन् २००८ मा कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तार गर्न अमेरिका पुगेका वीरगञ्जका शंकर उप्रेतीले नेपाली चाडपर्वबारे अपडेट भइराख्न झोलामा पात्रो सँगै बोकेका थिए। तर, जसै एक वर्ष सकियो पात्रोको आयु पनि सकियो। त्यसपछि उनको दिमागमा नेपाली पात्रोको एपको नवीन विचार फुर्‍यो।

सन् २०१० मा उनले एप्पल आईओएसमा ‘हाम्रो पात्रो’ को एप लञ्च गरे, दुई वर्षपछि यही एप एन्ड्रोइड प्लेस्टोरमा पनि देखियो। अहिले ‘हाम्रो पात्रो’ एपमा डेट कन्भर्टर, राशिफल, अनलाइन ज्योतिष, कुण्डलीसँगै फरेन एक्सचेञ्ज, नेपाली–अंग्रेजी शब्दकोश, सुनचाँदीको भाउ पनि उपलब्ध छन्।

यस बाहेक ४६ वटा न्यूज पोर्टल, ३५० भन्दा बढी रेडियो, २० भन्दा बढी भिडियो च्यानल एपसँग जोडिएका छन्। नौ वर्षे अवधिमा ‘हाम्रो पात्रो’ दैनिक झण्डै १२ लाख प्रयोगकर्ता सहितको मुलुककै सबैभन्दा ठूलो र सफल ‘अनलाइन प्लेटफर्म एप’ बनेको छ।

सामान्य सोचेर बनाएको यो एपले नचिताएको उँचाइ हासिल गरेपछि ‘सिलिकन भ्याली’ क्यालिफोर्नियाको साइमनटेक कर्पको जागिर छाडेका उप्रेतीसँग आफ्नो एपलाई लिएर थप सपना मात्र छैन, मुलुककै सूचनाप्रविधि विकासको सुझाव पनि छन्। उप्रेतीसँगको कुराकानीको सम्पादित अंशः 

नेपाली पात्रो हेर्ने सामान्य सोचबाट थालिएको ‘हाम्रो पात्रो’ अहिले अनेकन् सेवाको ‘प्लेटफर्म’ बनेको छ । यो कसरी सम्भव भयो ?

‘हाम्रो पात्रो’ शुरु गर्दा त क्यालेन्डर र डेट कन्भर्टर मात्र राखिएको थियो । किनभने, विदेश बस्दा नेपालमा कुन मितिमा कुन चाडपर्व आइरहेको छ भन्ने थाहै नहुने । विस्तारै विदेश बस्ने नेपालीकै सुविधाका के–के कुरा थप्न सकिन्छ भन्ने लाग्यो ।

‘मनी एक्सचेञ्ज रेट’ चाहिने भयो, नेपालको रेडियोहरू सुन्ने सुविधा थपियो । अहिले एपमा जे जे फिचर छन्, ती सबै प्रयोगकर्ताकै मागमा थप्दै लग्यौं । अहिले हेर्दा एपको विशेषता नै मनपरेका धेरै कुरा एकै ठाउँमा राखिनु भएको छ ।

एकै विषयमा केन्द्रित भएर एप बनाउने प्रचलन बढिरहेका वेला ‘हाम्रो पात्रो’ भने सबै कुराको साझा मञ्च बन्ने योजनामा देखिन्छ । यो कस्तो सोच हो ?

अहिले पश्चिमी राष्ट्रहरूमा ‘एउटा कुराका एउटा एप’ अर्थात् ‘डिकपल’ अवधारणा छ । तर, हामी एशियाली राष्ट्रहरूमा अझैसम्म त्यो अवधारणा आइसकेको छैन । हामी सुपर एपमै रमाइरहेका छौं । उदाहरणको लागि चीनमा वी च्याट, इन्डोनेशियामा गोजेक नै हेरौं ।

विस्तारै भारत पनि सुपर एपकै अवधारणामा गइरहेको छ । स्पेस पनि कम लिने, सजिलो र सुविधा पनि पाइने– धेरै एप डाउनलोड गर्न नपरोस् भन्ने सोच देखिन्छ । ‘हाम्रो पात्रो’ मन पराइनुको कारण पनि यही हो ।

पछिल्ला वर्षहरूमा नेपालमा पनि वेबसाइट, न्यूजपोर्टल, एपका साथै फेसबूक, ट्वीटर, इन्स्टाग्राम, ‘सेयरिङ टुल्स’ को प्रयोग ह्वात्तै बढेको छ । यसबाट ‘हाम्रो पात्रो’ लाई कत्तिको चुनौती छ ?

हाम्रो पात्रो ‘डिजिटल प्लेटफर्म’ हो । त्यसैले हामीलाई अरु साइट र अनलाइनबाट भन्दा पनि प्रयोेगकर्तालाई कसरी समान रुपको सेवा दिने भन्ने चुनौती छ । नेपालीमाझ फेसबूक जत्तिकै सेवा, यूट्यूब जत्तिकै ‘इन्गेज’ कसरी गराउन सक्छौं भन्ने चुनौती छ ।

धेरै अनलाइनका सामग्रीलाई आफ्नै एपबाट ‘सेयर’ गरिरहँदा त्यसको गुणस्तर र विश्वसनीयता चाहिं कसरी अनुगमन गर्नुहुन्छ ?

हाम्रो एउटा चुनौती भनेको सामग्री छनोट पनि हो । यसका लागि हामीले पहिले त विश्वसनीय साइटहरूको मात्र ‘कन्टेन्ट’ राख्ने गरेका छौं, त्यो पनि प्राथमिकताका आधारमा । दोस्रो, आएका सामग्री कति आधिकारिक, तथ्य, मौलिक हो भनेर जाँच गर्ने तरिका पनि छ । सामग्रीको संख्या बढेसँगै अनुगमन पनि चुनौतीपूर्ण हुँदोरहेछ । तर, जुन मूलस्रोतबाट आए पनि हाम्रो एपबाट गएका सामग्रीप्रति जवाफदेही हुनुपर्नेमा सचेत छौं । 

तपाईंले भन्नुभए झैं दैनिक १२ लाख सक्रिय प्रयोगकर्ताको हिसाबले ‘हाम्रो पात्रो’ देशकै ठूलो ‘अनलाइन प्लेटफर्म’ बनिसकेको छ । तर, आयको आधार र अवस्था भने कस्तो छ ?

शुरुमा हामी कसरी बढीभन्दा बढी प्रयोगकर्तालाई हाम्रो ‘प्लेटफर्म’ मा ल्याउन सकिन्छ भन्नेमै केन्द्रित थियौं । यो वर्षदेखि चाहिं आयआर्जनका बारेमा पनि केही सोचिरहेका छौं । डिजिटल मार्केटिङको पनि योजना छ । 

तर, यत्रोविधि सूचनाप्रविधिको विकास हुँदा पनि हाम्रो व्यावसायिक क्षेत्रले भने अझै पनि डिजिटल मार्केटिङलाई विश्वास नगरेको जस्तो देखिएको छ । कारण के हुनसक्छ ?

मेरो विचारमा यो ‘ट्रेन्ड’ पनि हो । हामी परम्परागत मार्केटिङमा हुर्किएका हौं । पहिले छापामा बढी केन्द्रित थियो । तर, अहिले फेसबूक जस्तै अरु प्लेटफर्मले गर्दा डिजिटल मार्केटिङ पनि विकल्प हो भन्ने सोचको विकास भइरहेको छ । दुई, तीन वर्ष अघिसम्म व्यावसायिक गृहमा जाँदा जस्तो अन्योलको अवस्था अहिले छैन । विज्ञापनदाताले विस्तारै बुझिरहनुभएको छ । यसमा डेटाको पनि अहम् भूमिका हुन्छ ।

विज्ञापनदाताले यूट्यूब, फेसबूक, इन्स्टाग्राम लगायतमा विज्ञापन नदिएर ‘हाम्रो पात्रो’ जस्तो स्वदेशी एपमा विज्ञापन किन गर्ने ?

यसमा आफ्नो व्यवसाय कहाँ केन्द्रित गर्ने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । अन्तर्राष्ट्रिय प्लेटफर्ममा जाने हो भने बेग्लै कुरा, तर नेपाली लक्षित बजारका लागि हो भने ‘हाम्रो पात्रो’ नै बढी प्रभावकारी भएको हाम्रो दावी छ । चाहे, ती नेपाली देशभित्र हुन् या बाहिर । यस्तो सेवा फेसबूक, गुगल जस्ता कम्पनीले दिन सक्तैन ।

तपाईं अमेरिकाको सिलिकन भ्यालीको अनुभव बोकेर फर्कनुभएको छ । सूचनाप्रविधिको क्षेत्रमा नेपालमा कस्तो अवसर र सम्भावना देख्नुहुन्छ ?

म त अवसरै अवसर देखिरहेको छु । यसको कारण भनेको इन्टरनेटको पहुँच र धेरैको हातमा स्मार्ट फोन हुनु हो । अहिले ७० प्रतिशतभन्दा बढी मान्छे इन्टरनेटको पहुँचमा छन् ।

भारत र चीनको जनसंख्यासँगै बजार पनि ठूलो छ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा प्रभावशाली विकास गरेको छ । डिजिटल भुक्तानीमा भारतीयको पहुँच बढ्दो छ, स्टार्टअपमा पनि लगानी ठूलो छ । नेपालमा पनि हामी यसैको सिको गर्न सक्छौं ।

सबैभन्दा बढी ‘इन्गेज्ड’ मोबाइलमा छ, त्यसकारण पनि विज्ञापनको लागि सबैभन्दा राम्रो बाटो मोबाइल नै हुनेभयो । अबको चरण डिजिटल मार्केटिङ हो जस्तो लाग्छ । किनभने मानिस सबैभन्दा बढी डिजिटल प्लेटफर्ममै केन्द्रित छन् । बजारको सिद्धान्त नै हो– जहाँ प्रयोगकर्ता झुम्मिन्छन्, मार्केटिङ त्यहीं गरिनुपर्छ । र, हुन्छ पनि यस्तै ।

तर सूचनाप्रविधिकै उत्पादन अनलाइन गेम, एप, फेसबूक, ट्वीटरका कारण समाजमा विकृति फैलिएको चर्चा पनि चलिरहेको छ । व्यवस्थापनको संयन्त्रचाहिं के हुनसक्ला ?

हरेक साधनको राम्रो, नराम्रो पक्ष हुन्छ  । डिजिटल प्लेटफर्मको पनि छ । डिजिटल प्लेटफर्मका लागि पनि यो विषय चुनौतीका रुपमा छ । तर, प्रयोगकर्तामा धेरै कुरा भर पर्छ । हामीकहाँ प्रयोगकर्तामा सचेतना नपुगेको जस्तो देखिन्छ । अभिव्यक्ति स्वतन्त्रतामा व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ । राज्यले नियन्त्रण गर्ने अवस्था नै आउन दिनुहुन्न ।

सरकारले समय समयमा गुगल, फेसबूकको कार्यालय नै नेपालमा राख्नुपर्ने, उनीहरूबाट कर उठाउने कुरा पनि गरिरहेको सुनिन्छ । यो कत्तिको जायज र सम्भव छ ?

फेसबूक, गुगलको कार्यालय नेपालमै हुनु वास्तवमै राम्रो हो । तर फेसबूक, गुगललाई नेपालको बजारको आकार कत्रो छ ? उनीहरूले यहाँ लगानी गरेर फाइदा के पाउने भन्ने कुरा निश्चित छैन । त्यसैले बलपूर्वक अहिल्यै कार्यालय खोलिहाल् भन्नु व्यावहारिक र उचित हुन्छ जस्तो लाग्दैन ।

सूचनाप्रविधिको विकास र प्रयोगलाई अझ उन्नत बनाउन मुलुकमा के कुराको कमी देख्नुहुन्छ ?

जुनसुकै देशमा पनि डिजिटल बजार राम्रो हुन ई–कमर्स एकदमै बलियो हुनुपर्छ । नेपालमा भने अझै पनि ई–कमर्समा उतिसारो विश्वास बढेको देखिन्न । तर, मुलुकको समग्र अर्थतन्त्रकै लागि पनि इ–कमर्सको विकासको विकल्प छैन ।

त्यसकारण सरकार इ–कमर्ससँग सम्बन्धित नीति र कार्ययोजना बनाउनेतिर लाग्नुपर्छ । नीति बनाउँदा उपभोक्ता अधिकार र नियमनलाई ख्याल राख्नुपर्छ ।

अर्को प्रसंग, हाम्रा दुई छिमेकी चीन र भारत, विश्व अर्थतन्त्रमा मात्र होइन, सूचनाप्रविधिको विकासमा पनि उत्तिकै अब्बल छन् । तर, बीचको नेपाल भने ‘कुहिरोमा हराएको काग’ जस्तो देखिन्छ । हामीले यी दुई देशहरूबाट कसरी लाभ लिन सक्छौ ?

भारत र चीनको जनसंख्यासँगै बजार पनि ठूलो छ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा प्रभावशाली विकास गरेको छ ।

डिजिटल भुक्तानीमा भारतीयको पहुँच बढ्दो छ, स्टार्टअपमा पनि लगानी ठूलो छ । नेपालमा पनि हामी यसैको सिको गर्न सक्छौं । त्यसो भएमा बजार सानो भए पनि प्रयोगकर्तालाई उच्चस्तरीय सेवा दिन सक्छौं । 

तर, त्योभन्दा महत्वपूर्ण चाहिं डिजिटल अर्थतन्त्रमा लगानीको आग्रह हो । प्रविधि त अमेरिका होस् या नेपाल उस्तै हो । त्यसकारण प्रविधि हस्तान्तरण होइन, लगानी खोज्न लाग्नुपर्छ । यसका लागि अहिलेको बजारको दायरा र आकार दुवै बढाउनुपर्छ । प्रयोगकर्तामा सचेतना बढाउनुपर्छ । बजार बढे मात्र लगानी ल्याउन सहज हुन्छ । समृद्धिको नारा लगाइरहने सरकारले यतातिर सोच्नुपर्छ ।

भिडियो अन्तर्वाताः

प्रतिकृया दिनुहोस