विवाह गर्न चितवन आउने भारतीय बढ्दै
भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।
सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ ।
ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।
होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई/दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ । आज सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताए ।
एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ ।
नअट्नेहरु बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् ।
होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गत वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उनले बताए ।
अन्य होटलहरुमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सँैजुले यसबाट अन्य पर्यटकहरुलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताए । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरु सचेत रहेको सैंजुको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ ।
गत वर्ष सात/आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो ।
मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरुका लागि सौराहा उपयुक्त थलो बनेको उनले बताए ।