चिकित्सक संघमा चुनावको तयारी, पदाधिकारी छनोटमा सहमति जुटेन
नेपाल चिकित्सक संघ आउँदो माघ महिनामा हुने चुनावको तयारीमा जुटेको छ । चुनाव तयारी स्वरुप संघले पदाधिकारी छनोट शुरु गरेको छ ।
प्रजातान्त्रिक समूहले संघको चुनावका लागि पदाधिकारी छनोट गरे पनि सहमति जुट्न सकेको छैन । सो समूहको बैठकले महासचिवका आकांक्षी रहेका पाँच जना चिकित्सकमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. बद्री रिजाललाई उठाउने सहमति गरेको छ ।
चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा डा. शिवकुमार श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, सह–सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सह–कोषाध्यक्षमा डा. विश्वराज दवाडी नाममा सैद्धान्तिक सहमति जुटेको बताएका छन् ।
तर, सहमति जुटेको भनिएको पदाधिकारीहरूको नाममा चिकित्सकहरूका बीचमा मतभिन्नता देखिएको छ ।
सह–कोषाध्यक्षमा नाम प्रस्ताव गरिएका डा. दवाडीले महासचिवमा डा. रिजालको नाम प्रस्ताव गरेकोमा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् ।
डा. दवाडीले भन्छन्, “अघिल्लो चुनावमा अत्यधिक मत ल्याएर विजयी भएकाले यस पटक महासचिव पदका लागि मेरो दावेदारी छ । अन्यथा म कार्यसमितिमा बस्दिनँ ।”
यस्तै, सह–सचिवका लागि प्रस्ताव गरिएका डा. प्रकाश बुढाथोकीले पनि महासचिव पदका लागि प्रस्ताव गरिएको नाम अमान्य हुने भन्दै असहमति जनाएका छन् ।