वडाध्यक्षबाट राजीनामा दिएर प्राविको शिक्षक बने बुढामगर
सल्यानमा सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाबाट नाम निकालेका हुन् ।
तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाबाट बुढामगर निर्वाचित भएका थिए ।
शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनी वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका छन् ।
“वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे”, बुढामगरले भने । आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, “अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु ।”
गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका छन् । त्यसै दिन गाउँ कार्यपालिकाको बैठक भएकाले बुढामगरको राजीनामा स्वीकृत भएको छ ।
राजीनामा पछि ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।