मन्त्रिपरिषद पुनर्गठनबारे दुई विकल्पमा गृहकार्य गर्दै प्रधानमन्त्री ओली
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार साँझ बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश पाएको छ । पार्टी एकीकरण प्रक्रियाबारे छलफल गर्न बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी निर्णय समेत लिएको छ ।
सचिवालयले शीर्ष नेताहरुसँग परामर्श गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
सचिवालयमा भएको छलफल सँगै प्रधानमन्त्री ओलीले अब सोमबार वा मंगलबार नै मन्त्रिपरिषदबारे निर्णय लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री निकट एक नेताका अनुसार, केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन हुनेछ । ती नेताले भने, “सोमबार माथिल्लो त्रिशुली थ्री ‘ए’को उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय नहुन सक्छ ।”
तर, मन्त्रिपरिषद्बारे प्रधानमन्त्री ओलीले गृहकार्य भने अगाडि बढाइसकेका छन् । “शीर्ष नेताहरुसँगको परामर्श लिएर सामुहिक निर्णय गर्ने प्रधानन्त्रीकाे चाहनाले मात्रै केही ढिला भएको छ”, ती नेताले भने ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे दुई विकल्पमा गृहकार्य गरिरहेका छन् । शुक्रबार मात्रै सचिवालय पुनर्गठन गरेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदमा पनि केही मन्त्रीलाई मात्रै हटाएर नयाँ ल्याउने अथवा ठूलै परिवर्तन गर्ने भन्नेबारे गृहकार्य गरिरहेका छन् ।
आफूले चाहेजस्तो काम देखाउन नसकेका केही मन्त्रीलाई हटाउने मनस्थिति प्रधानमन्त्री ओलीले पहिलेबाटै बनाएका छन् ।
तर, त्यसरी केहीलाई मात्रै हटाउँदा पार्टीभित्रकै शक्ति सन्तुलन बिग्रन सक्ने भएकाले ठूलै संख्यामा मन्त्री हेरफेर गर्ने विकल्पमा समेत प्रधानमन्त्री ओलीले गृहकार्य गरिरहेका छन् ।
प्रधानमन्त्री सचिवालयका एक सदस्य भन्छन्, “अहिलेसम्म दुवै विकल्पमा प्रधानमन्त्री गृहकार्यमै हुनुहुन्छ ।” प्रधानमन्त्री ओलीले हटाउनैपर्ने मन्त्रीहरु र टीम नै परिवर्तन गर्दा बन्ने मन्त्रीहरुको नाममा गृहकार्य गरिरहेका छन् ।
स्रोतका अनुसार, अर्का अध्यक्ष पुष्पकमल दाहाल सँग समेत यसबारे प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।
प्रवासमा पाण्डे
आइतबार साँझ बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन समेत गरेको छ ।
बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको छ ।
कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।