उपाधिकाे खडेरी ताेडेकाे महिला भलिबलकाे नजर सागतिर
नेपालले भलिबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । राष्ट्रिय महिला भलिबल टीमले बाङ्लादेशको ढाकामा भएको एभीसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको हो ।
नेपालले २८ कात्तिकमा भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २५–१३ को जित निकालेको नेपाल दोस्रोमा २५–१२ र तेस्रोमा २५–८ ले विजयी भयो । प्रतियोगिताको बेस्ट स्पाइक प्रतिभा माली, बेस्ट सेटर अरुणा शाही भएका थिए ।
पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएन । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बाङ्लादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो ।
यसअघि सन् २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजत नै अहिलेसम्मको ठूलो पदक थियो । नेपाली महिला भलिबल टीमले सन् १९९९ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको हो ।
नेपालले सन् २००६, २०१० र २०१६ को सागमा काँस्य पदक जितेको थियो । पुरुष भलिबल टीमले भने अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सकेको छैन ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बाङ्लादेशमा उपाधि जितेर फर्केको भलिबल टोलीका प्रत्येक सदस्यलाई जनही रु.३ लाख दिन सरकारलाई प्रस्ताव गरेको छ ।
राखेप सदस्यसचिव रमेश सिलवालले खेलाडी र पदाधिकारीलाई शुक्रवार विमानस्थलमा स्वागत गर्दै प्रोत्साहन स्वरुप खेलाडी र पदाधिकारीलाई पुरस्कार दिन सिफारिश गरिएको बताए । सेन्ट्रल जोनको उपाधि जितेर आएको टोलीमा १२ खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक गरी १६ सदस्य छन् ।
विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रशिक्षक जगदीश भट्टले नेपाली महिला भलिबल टीमको प्रदर्शन निखारिंदै गएका कारण १३औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने लक्ष्य राखेको बताए । उनले भने, “यो उपलब्धिले महिला भलिबल खेलाडीको मनोबल निकै उच्च भएको छ, अब हामीले १३औं सागमा स्वर्ण पदकका लागि खेल्नेछौं ।”
पहिलोपटक राष्ट्रिय महिला भलिबल टोलीको कप्तान भएकी अरुणा शाहीले ऐतिहासिक उपलब्धिमा सबै खेलाडी र प्रशिक्षकको योगदान रहेको बताइन् । २० वर्षसम्म उपाधिविहीन भलिबल टोलीलाई आफ्नै कप्तानीमा स्वर्ण जिताउँदा गर्व महसूस भएको उनको भनाइ थियो ।