दाङमा फेला परे अत्याधुनिक हतियार
जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ ।
प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित उक्त हतियार फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल पाँच थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखेको उक्त हतियार शुक्रबार बेलुकी करीब ६ः०० बजेतिर फेला पारेको थियो ।
हतियार किन र कसले राख्यो जानकारी आउन सकेको छैन । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुनसक्ने बताइएकाे छ।