नेपालद्वारा हङकङ ४० रनले पराजित, सेमिफाइनल सम्भावना कायमै
एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ ।
नेपालको २१८ रनको लक्ष्य पाएको हङकङ कुल १७७ रनमै समेटियो ।
४५.५ ओभरमा हङकङका ब्याट्सम्यानलाई अलआउट गर्ने क्रममा नेपालका अविनाश बोहराले लिष्ट ए डेब्युको पहिलो खेलमै तीन विकेट लिए । करण केसीले पनि तीन विकेट लिए । सुशन भारीले पनि दुई विकेटको सफलता हात पारे ।
अन्तिम विकेट जोगाउँदै ५३ बलमा ४४ रनमा बनाएका एहसान नवाज खतरा बनिरहेका बेला नेपालका ललित राजवंशीले अर्को इन्डमा रौनक कपूरलाई रनआउट गर्दै खेलमा नेपाललाई विजय दिलाएका थिए ।
टस जितेर फिल्डिङ रोजेको हङकङसामु नेपालले निर्धारित ५० ओभरमा २१७ रन बनाएको थियो ।
नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।
कप्तान ज्ञानेन्द्र मल्ल फेरि पनि शून्यमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल पनि १ रनमै पभेलियन फर्किएका थिए ।
शरदले इनिङले उकासिरहँदा अर्को इन्डबाट दीपेन्द्रसिंह ऐरीले ३७ र आसिफ शेखले ४२ रन बनाउँदै धैर्यतापूर्वक टोलीलाई सामान्य स्कोरमा पु¥याएका थिए ।
पहिलो खेलमा भारतसँग पराजित नेपालको यो जितसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।